PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

उदयपुरमा आगलागीमा १२ घर जलेः एक बृद्धा बेपत्ता, ६ करोडको क्षति



पहिलोपोस्ट

उदयपुरमा आगलागीमा १२ घर जलेः एक बृद्धा बेपत्ता, ६ करोडको क्षति

गाईघाटः उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।

प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी सुरु भएपछि रातको ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ।

आगलागीबाट तामाङको ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको प्रहरीले बताएको छ। आगलागी सुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण प्रहरीले कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि अहिले बिहानको ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

तामाङको घरमा रातिको समयमा धामी बसाएको र त्यसैबाट आगो सल्केको हुनसक्ने प्रहरीले बताएको छ। आगलागीबाट स्थानीय टेकप्रसाद श्रेष्ठ, भरत कार्की, वीरबहादुर तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिलकमान तामाङ, रमेश खतिवडासहितको घर तथा लत्ताकपडा, अन्नपातसहित सम्पूर्ण वस्तु जलेर नष्ट भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell