PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

भारतको यु टर्न : संविधान संशोधन बारे मोदी मौन 



बीपी साह

भारतको यु टर्न : संविधान संशोधन बारे मोदी मौन 
फोटो : पिआईबी

काठमाडौं : नेपालको संविधान निर्माण प्रक्रियामा चासो देखाउँदै संविधान संशोधन गर्न दबाब दिएको भारत अहिले आफ्नो अडानबाट यु टर्न भएको छ। 

अहिलेसम्म भारतले नेपालको संविधानलाई औपचारिक रुपमा स्वागत गरेको छैन। तर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा संविधानको ‘स’समेत उच्चारण भएन। 

पहिलो पटक प्रधानमन्त्री भएर दिल्ली भ्रमणमा जाँदा भारतले बूँदागत रुपमा संशोधन हुनुपर्ने भन्दै दबाब दिएको थियो। राजकीय भ्रमणको क्रममा जारी गरिने संयुक्त वक्तव्य संविधानलाई 'स्वागत' शब्दमा मतभेद भएपछि जारी हुन सकेको थिएन

तेस्रो मधेश आन्दोलनका क्रममा भारतीय पक्षले मधेश आन्दोलनको एजेण्डा समावेश गर्न नाकाबन्दीसमेत गरेर कडा रुपमै प्रस्तुत भएको थियो। 

मधेश आन्दोलनको मागलाई भारतसँग जोडेर ओलीले प्रतिवाद गरेका थिए। र, मधेश आन्दोलनका सबै माग भारतीयको माग भएको भन्दै चर्चा राष्ट्रवादको नारालाई अगाडि सारेका थिए।

नेपालको संविधान संशोधनको विषय भारतीय संसदमा समेत उठेको थियो।

तर यस पटकको ओलीको भारत भ्रमणका क्रममा न भारतीय पक्षले संविधानको कुरा उठायो, न त नेपाली पक्षले संविधानका विषयमा चर्चा गर्‍यो।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको संयुक्त वक्तव्यमा समेत संविधानबारे केही उल्लेख छैन। 
दुबै देशको औपचारिक छलफलका प्रक्रियामा समेत संविधानका विषयमा चर्चा भएको छैन।

संविधान संशोधन अथवा मधेश आन्दोलनसँग सम्बन्धित कुनै कुरा नउठेको बारे मधेश मामिलाका जानकार एवं पूर्वराजदुत विजयकान्त कर्ण भन्छन्,‘भारतले संविधान संशोधनको विषयमा स्ट्याटस चेन्ज गरेको छ। भारतले संविधानको विषयलाई कहीँ कतै उठाएको छैन। उसले अहिलेको अवस्थामा संविधान संशोधनको कुरा उठाउनु उचित ठानेन।’

भारतले नेपालको संविधानलाई अहिलेसम्म स्वीकार नगरेको तर्क गर्दै कर्णले भने,‘भारतले चासो देखाएको विषय पूरा नभएसम्म संविधानलाई स्वीकार गर्ला जस्तो मलाई लाग्दैन । त्यसैले त संयुक्त विज्ञप्तिमा संविधानलाई स्वागत गरेको अथवा संविधान बारे कुनै चर्चा गरिएको छैन।’
कर्णले संविधानका विषयमा भारत मौन रहेको बताउँदै निर्वाचनबाट आएको परिणामको पक्षमा भारत देखिएको बताए।

भारतले संविधानको स्वागत नगरे पनि संविधान अनुसार भएको तीन तहको चुनावलाई भने ‘निकै ठूलो उपलब्धि’ भन्दै स्वागत गरेको छ। हिजो आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले सन् २००६ बाट सुरु भएको परिवर्तनको उत्कर्ष बताउँदै नेपाली जनता र सरकारलाई अभिनन्दन र बधाई दिएका थिए। 

नेपालको इतिहासको स्वर्णिम अध्यायको सुरुवात भएको भारतलाई हर्षको विषय भएको उनले बताएका थिए।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell