भुवनेश्वर (भारत) : शनिबार राति विना इन्जिन अहेमदावाद-पुरी एक्सप्रेस रेलले १३ किलोमिटर दुरी तय गरेपछि रेलवेजले आइतबार आफ्ना सात कर्मचारीलाई निलम्बन गरेको छ।
२२ कोचहरुसहित रेल तितलागढ स्टेसनदेखि बलांगिर जिल्लाको केसिङ्गा स्टेसनसम्म गुडेको थियो।
इस्ट कोस्ट रेलवेले रेल चालक रायपुरका एस वेनकट राओ, असिस्टेन्ट रेल चालक रायपुरकै सुसान्त सिंहसहितका कर्मचारीलाई कारवाही गरेको हो। कारवाहीमा पर्ने कर्मचारीमा रेल मर्मतका इन्चार्जसमेत रहेका छन्।
घटनालगत्तै रेलवे बोर्डले एक महिना लामो सुरक्षाको तालिम रेल चालकहरुलाई देशव्यापी रुपमा गराउने निर्णय गरेको छ। तालिममा रेलवेसँगै विद्युत विभागका कर्मचारीलाई समेत सहभागी गराउने रणनीति लिइएको छ।
शनिबार रातिको घटना भने रेलको इन्जिनलाई रेलबाट छुट्याएपछि भएको थियो। तितलागढदेखि केसिङ्गा क्षेत्रमा स्लोप भएका कारण रेल विनाइन्जिन गुडेको थियो। अप्रत्यासित रुपमा इन्जिनविना नै रेलगाडी आएपछि त्यसलाई जबर्जस्ती रोकिएको थियो। ट्र्याकमा ढुंगाहरु राखेर रेल रोक्न परेको थियो।