PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दिल्लीबाट फर्किएपछि प्रम ओलीको बद्लिएको 'बडी ल्याङ्ग्वेज' : 'भारतसँगको सम्बन्ध बिगार्दैनौँ' 



विधुर ढकाल

दिल्लीबाट फर्किएपछि प्रम ओलीको बद्लिएको 'बडी ल्याङ्ग्वेज' : 'भारतसँगको सम्बन्ध बिगार्दैनौँ' 

काठमाडौँ : भारतको तीन दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलमा भारतीय समकक्षीसँगको भेट र उपलब्धिहरुबारे पत्रकारहरुलाई जानकारी दिँदै गर्दा प्रफुल्लित देखिन्थे। 

भारतसँगको सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै गर्वका साथ उपस्थित भएका उनले अब भारतसँगको सम्बन्ध सधैं यस्तै रहिरहने बताए। 

‘तपाईँहरुले सोध्नुभयो, नेपाल-भारत सम्बन्ध कस्तो भयो? तस्विर आफैँ बोल्छ,’ उनले अगाडि भने, ‘अब भारतसँगको सम्बन्ध बिगारेन भने सधैंका लागि राम्रै हुँदै जान्छ। अब कसैले बिगार्‍यो भने त के लाग्यो र? तर हामी बिगार्दैनौँ।’ 

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध सकरात्मक ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै भने, ‘सम्बन्धहरुलाई अब बिगार्नु हुँदैन, त्यस कारण सकारात्मक ढंगले पारस्परिक लाभका आधारमा पारस्परिक सम्मानका आधारमा सम्बन्ध अगाडि बढ्छ।’

यसैबीच प्रधानमन्त्री ओलीले आफूले संसदमा र सार्वजनिक रुपमा भनेका विषयहरु भारतमा उठान गरेको दावी गरे। ‘मैले जानुभन्दा अगाडि सार्वजनिक रूपमा र संसदमा पनि भनेको थिएँ, हाम्रो परराष्ट्र सम्बन्ध मित्रबाट प्रस्थान हुन्छ। भारतीय प्रधानमन्त्री मोदीजी लगायत त्यहाँ रहेका कुटनीतिक जगतसँग २१ औँ शताब्दीमा हामी हाम्रा छिमेकीहरू भारतसँग र अन्य देशसँग कसरी सम्बन्ध राख्न चाहन्छौँ भन्ने कुरा बतायौँ,’ उनले अगाडि भने, ‘उहाँहरूले नेतृत्व तहबाट नै सकरात्मक रूपमा लिनुभयो। स्वागत गर्नुभयो।’

भ्रमण उपलब्धिपूर्ण रुपमा अगाडि बढेको प्रधानमन्त्री ओलीले दाबी गरे। ‘हाम्रो भ्रमण कुनै बनावटी, देखावटी कुराहरुमा होइन, यथार्थमा उपलब्धिपूर्ण ढंगले अगाडि बढ्यो,’ उनले भने, ‘पन्चेश्वर परियोजनाको सन्दर्भमा टनकपुरमा १.३ किमी नहर नबन्दा परेको समस्याका बारेमा हामीले ध्यान आकर्षित गरेका छौँ। उहाँहरूले छिट्टै काम अगाडि बढाउने भनेर म दिल्लीमा हुँदाहुँदै तलतिर निर्देशन जारी गरिसक्नुभएको छ।’ 

‘आज म उत्तराखण्ड जाँदा केन्द्र सरकारले उत्तराखण्ड सरकारलाई निर्देशन दिएको त्यहाँका मुख्यमन्त्रीले मलाई बताउनुभयो,’ उनले भने। 

प्रधानमन्त्री ओली आजै आइतबार नै भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि लिन पुगेका थिए। 

भारतले नेपालको लोकतान्त्रिक प्रक्रिया, जनताको अभिमतलाई स्वागत गरेको समेत प्रधानमन्त्री ओलीको भनाई थियो। 

भारत भ्रमणका क्रममा केही नयाँ सहमति भएको भन्दै उनले काठमाडौँ–रक्सौल रेलवे, इनल्याण्ड वाटरवे, कृषि साझेदारीका विषयमा भएका सम्झौताहरुबारे समेत जानकारी गराए। 

प्रधानमन्त्री ओलीले पुराना समस्याहरुलाई समेत गम्भिरताका साथ उठान गरेको दाबी गरे। ‘पुराना समस्याहरु, सीमा सम्बन्धी विवाद, डुबानका समस्याहरु समेत हामीले गम्भिरताका साथ कुरा उठाएका छौँ,’ उनले भने, ‘हामीले देखाउनका लागि उठायौँ भन्नका लागि होइन, हामी समस्याहरू समाधान गर्न चाहन्छौँ त्यसकारण संवादका माध्यमबाट समाधान गर्नुछ।’ 

उनले दुई देशबीचका समस्या संवादका माध्यमबाट निष्कर्षमा पुर्‍याउन आवश्यक भएको बताए। ‘म आश्वस्त पार्न चाहन्छु, तमाम कुराहरू उठेका छन्, सकारात्मक प्रगति भएको छ,’ उनले अगाडि भने, ‘जुन कुराहरूमा लिखत रूपमा आएको छ, त्यसलाई हामीले त्यसै गरी अगाडि बढाएका छौँ। जुन कुरा लिखित रूपमा आउन बाँकी छ त्यसलाई उछाल्ने होइन, समाधान गर्ने दिशामा हामी लागेका छौँ।’

नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई भारतमा अनुमति नदिइएको बारे कुरा राख्ने भनी संसदमा बताएका प्रधानमन्त्री ओलीले यो विषयमा आफूले कुरा गरेको र छिट्टै समाधान हुने अाशा लिएको बताए। दुई देशको संयुक्त प्रेस विज्ञप्तिमा यो विषय उठेको छैन। 

संयुक्त विज्ञप्तिमा रेलमार्ग र जलमार्गको कुरा छ, तर नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई मार्गको विषयमा भने केही उल्लेख छैन। 
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा नेपाल प्रवेश गर्ने हवाई विन्दुको विषयमा समेत कुरा उठाउने संसदमा बताएका थिए। 

औपचारिक विज्ञप्तिहरुमा कुनै कुरा नआए पनि हवाई बिन्दुका विषयमा पनि कुरा गरेको उनले दावी गरे। 

प्रधानमन्त्री ओलीले भारतमा भएको नोटबन्दी (डिमनिटाइजेसन)का कारण नेपालमा परेको असर र नेपालीसँग रहेको रकमको विषयमा भारतसँग कुरा गर्ने बताएका थिए। 

भारतको विदेश मन्त्रालयले शनिबार आयोजना गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा विदेश सचिव विजय गोखलेले नोटबन्दीको विषयमा कुनै पनि छलफल नभएको बताए। ‘यो विषय कुनै पनि छलफल र भेटवार्तामा उठेन,’ पत्रकारको जिज्ञासामा गोखलेले भनेका थिए।

यो विषयमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मौन रहे। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell