PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

'अप्राकृतिक जन्म' : निजी अस्पतालको व्यापार



सागर बुढाथोकी

'अप्राकृतिक जन्म' : निजी अस्पतालको व्यापार

विश्वचर्चित स्वास्थ्य साइट वेवमेड लेख्छ,  'अपरेशन डेलिभरी' अर्थात 'सिजेरियन सेक्सन' सुरक्षासँग सम्बन्धित भएपनि नर्मल डेलिभरी भन्दा अत्यन्तै खतरनाक हुन्छ। 'रिकभर'  हुन लामो समय लाग्ने मात्रै हैन रक्तश्राव हुने, अन्य अंगहरु फ्याक्चर हुने र बच्चालाई समेत डरलाग्दो असर पर्ने हुन्छ।

यी त सिजेरियन डेलिभरी गर्दा तत्काल देखिने सामान्य असर मात्र हो। दीर्घकालीन असरहरुको सूची अत्यन्तै लामो छ। ती मध्येको एक हो, बच्चा र आमाको स्वास्थ्य जीवनभर जोखिममा रहनु।

अमेरिका चिकित्सा जगतका नयाँ प्रविधिहरु उपयोग हुने ठाउँ हो। ‘ब्युटी कन्सस’ महिला पनि उत्तिकै छन् त्यहाँ। तर त्यहाँको विगत २५ वर्षको तथ्याङ्क हेर्दा ‘सिजेरियन सेक्सन’  को संख्या ३२ प्रतिशतबाट बढी छैन।

तर नेपालको तथ्याङ्क कहालिलाग्दो छ। 

जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार निजी अस्पतालको सिजेरियन सेक्सन ९९ प्रतिशतसम्म छ। तर सरकारी अस्पताल त्यसको ठीक उल्टो। तथ्यांक भन्छ सरकारी अस्पताल भन्दा निजी अस्पतालमा सिजेरियन सेक्सन दोब्बर भन्दा बढी।



आर्थिक वर्ष २०७३/७४ मा निजी अस्पतालमा सिजेरियनको संख्या यस्तो छ- वयोधा अस्पताल ९९ प्रतिशत। ग्राण्डी अन्तराष्ट्रिय अस्पताल ८३। ओम अस्पतालमा ८७। भ्यालि मातृत्व अस्पताल तथा नर्सिङ होमले ८५ प्रतिशत सिजेरियन सेक्सन गराएका छन। काठमाडौँ मोडल अस्पतालले ६२ प्रतिशत। ती बाहेक अन्य निजी अस्पतालको तथ्यांक पनि ६० प्रतिशत भन्दा माथि छ।

तथ्यांकले देखाए भन्दा बढी सिजेरियन डेलिभरी हुन सक्ने बिजुक्छे बताउँछन्।

सरकारी अस्पतालमा सिजेरियन डेलिभरी कम

सरकारी अस्पतालहरुको तथ्यांक भने ठीक उल्टो छ। सिजेरियन सेक्सन डेलिभरी कम र नर्मल डेलिभरी बढी।

थापाथली प्रसुति गृहको ५ वर्षे तथ्याङ्क हेर्दा सिजेरियन सेक्सन डेलिभरीभन्दा सामान्य डेलिभरीको तथ्यांक बढी छ।

चार्ट हेर्नुहोस


त्यसैगरी पाटन अस्पतालले उपलब्ध गराएको तथ्यांक यस्तो छ।


अन्य  सरकारी अस्पतालको अवस्था यो भन्दा फरक छैन।

निजी अस्पतालमा किन यस्तो ?

टिचिङ अस्पतालका प्राविधिक नियन्त्रक रामविक्रम अधिकारीका अनुसार साधारण डेलिभरी गर्दा अस्पतालमा लामो समय सुत्केरीलाई राखिँदैन। सिजेरियन शल्यक्रिया गर्दा १ हप्ताभन्दा लामो समयसम्म पनि राख्नुपर्ने हुन्छ। 

‘सिजेरियन शल्यक्रियाको प्रमुख कारण पैसा नै हो। कतिपय अवस्थामा बिरामी नर्मल हुँदासमेत डाक्टर र बिरामीले रिस्क मोल्न नचाहेर पनि शल्यक्रिया गर्छन्,’ अधिकारीले भने, ‘अरु कारण त साइत हेर्ने, शरीर फिट राख्न चाहने र प्रसव पीडा सहन नसक्ने भएको कारणले महिलाहरु सिजेरियन गर्न राजी हुन्छन्।’

काठमाडौ मोडेल अस्पतालको इन्चार्ज इन्दिरा मर्हजनको अनुसार अहिले कोही महिलाहरु रिस्क लिन चाहँदैनन्। डाक्टर र अस्पतालहरु पनि रिस्कमा काम गर्न रुचाउँदैनन्। 

‘साइत हेरेर बच्चा जन्माउने, ब्युटी कन्सस हुनेहरु र प्रसव पीडा सहन नसक्नेहरु सिजेरियन सेक्सन गर्न आउने ट्रेन्ड चलेको छ,’ मर्हजन भन्छिन्, ‘तर, उहाँहरुलाई हामी सम्झाउँछौँ। सम्झाउँदा उहाँहरुको निर्णय परिवर्तन भएन भने उहाँहरुले भनेजस्तै हुन्छ। यहाँ मात्र हैन सबै अस्पतालले गर्ने त्यही हो।’

गर्भवती महिला वा बच्चालाई केही खतरा भएमा अस्पताल तोडफोड हुने कारणले पनि आजकल धेरैजसो सिजेरियन डेलिभरी हुने मर्हजन बताउँछिन्। उनले भनिन्, ‘सबै अस्पतालमा अहिले सिजेरियन डेलिभरी नै बढी हुन्छ। ईपी, भ्याकुम, नर्मल र र्फोसेप डेलिभरी रिस्की छ। त्यसैले सिजेरियन डेलिभरी गर्छन्।’

प्रसुति गृहका पूर्व निर्देशक अमिरबाबु श्रेष्ठका अनुसार निजी अस्पतालहरुको मनपरीले साइत हेर्ने, ब्युटी कन्सस महिलाहरुको सिजेरियन डेलिभरी बढ्दो छ।

नर्भिक इन्टरनेशनल अस्पतालका म्यानेजर आरपी मैनाली ब्युटी कन्सस हुनेहरु, आफ्नो योनी सुरक्षित गर्ने मनसाय भएकाहरुको कारणले सिजेरियन सेक्सन डेलिभरी बढेको बताउँछन्। 

‘साइत हेरेर बच्चा जन्माउँछु भन्दै डेट दिने, शरीर फिट राख्न चिरेर बच्चा निकाल्छु भन्नेहरु, कोही त एउटा मात्र बच्चा जन्माउने हो रिस्क किन लिनु भन्दै सिजेरियन सेक्सन गर्न आउँछन्,’ मैनालीले दावी गरे, ‘तर हाम्रो आफ्नै नियम छ। हामी बच्चा र आमालाई नर्मल डेलिभरी गराउन खतरा भएमा मात्र सिजेरियन डेलिभरी गर्छौ। अन्य प्राइभेटमा के गर्छन थाहा छैन।’

खतरा के छ?

श्रेष्ठका अनुसार नर्मल डेलिभरी नै प्राकृतिक हो। सिजेरियनमा कडा एण्टिबायोटिक खानु पर्छ। बच्चाले आमाको दुध चुस्दा दुधसँगै एण्टिबायोटिक पनि जान्छ। ‘जन्मँदै कडा एण्टिबायोटिक खाएको बच्चाको स्वास्थमा नकरात्मक प्रभाव पर्ने त भयो नै,’ श्रेष्ठले सचेत गराए, ‘धेरैजसो प्राइभेट अस्पतालमा नर्मल बिरामीलाई पनि सिजेरियन डेलिभरी गराएको सुनिन्छ। सचेत नहुने हो भने पैसा तथा स्वास्थ्यमा दुबैमा नकरात्मक असर पर्छ।’

नर्भिक अस्पतालका म्यानेजर मैनालीका अनुसार एकचोटी सिजेरियल सेक्सन शल्यक्रिया गरेपछि अर्को पटक नर्मल डेलिभरी गर्न मिल्दैन। पहिलोपटक सिजेरियन सेक्सन गरेको छ भने दोस्रो बच्चा जन्माउन चाहेमा सिजेरियन नै गर्नुपर्छ। त्यसैले सिजेरियन सेक्सन खतरा पनि छ।

के हो त सिजेरियन सेक्सन ?

प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्नेहरुको लागि ‘सिजेरियन सेक्सन’ प्रक्रिया हो जुन प्रक्रियाले गर्भवती अवस्थामा असामान्य स्थितिमा रहेको बच्चा तथा आमालाई बचाउन मद्धत गर्छ।

निजी अस्पतालको तथ्यांक हेर्दा सिजेरियन सेक्सन अहिले सही रुपमा प्रयोग भएको देखिएको छैन।

सिजेरियन सेक्सनको सहायताले व्यापार बढाउने अस्पतालहरु मात्रै छैनन्, ज्योतिषसँग साइत हेरेर बच्चा जन्माउने तथा आफ्नो शरीर फिट राख्नको लागि यो पद्धतिले शल्यक्रिया गर्ने आमाहरु पनि छन्। 

यसको असर बच्चा तथा आमा दुबैलाई पर्ने चिकित्सकहरु बताउँछन्

श्रेष्ठका अनुसार गर्भवती महिलाले बच्चा जन्माउन नसकेमा पेट वा पाठेघरको मुख चिरेर बच्चा निकालिन्छ भने त्यो सिजेरियन सेक्सन हो। आजकाल पाठेघरको मुख भन्दापनि पेट चिरेर बच्चा निकाल्ने चलन रहेको उनी बताउँछन्। महिलाहरुको मनौवैज्ञानिक कारण अर्थात् योनी सुरक्षित राख्ने मनसायले पेट चिरेर बच्चा निकाल्ने ट्रेन्ड चलेको उनको तर्क छ।

‘सिजेरियन सेक्सनलाई प्राकृतिक जन्म मानिँदैन। बच्चा जन्माउन नसक्ने अवस्थामा बच्चा, आमा वा दुबैलाई बचाउनको लागि यो शल्यक्रिया गरिन्छ,’ श्रेष्ठले भने,  ‘प्राकृतिक भएकाले सामान्य डेलिभरी राम्रो हुन्छ। बच्चा जन्माउन नसक्ने अन्तिम विकल्पको रुपमा यो प्रविधि भित्रिएको हो।’

कस्तो अवस्थामा गरिन्छ सिजेरियन सेक्सन? 

काठमाडौँ मोडेल अस्पतालकी इन्चार्ज महर्जनका अनुसार महिलाहरुको पाठेघरमा कतिपय अवस्थामा भ्रुण असामान्य स्थितिमा हुन्छ। बच्चाको घाँटीमा सालनाल बेरिन्छ। पेटमा बच्चा तेर्सो पनि बस्छ। त्यसैले सिजेरियन डेलिभरी गरिन्छ।

‘महिलाहरुको उचाइ र तौल थोरै भएमा पनि खतरा हुन्छ। पाठेघरको मुख सानो भएमा, पहिला गर्भपतन गरेको वा बच्चा खेर गएको अवस्थामा पनि सिजेरियन सेक्सन गरिन्छ,’ मर्हजनले भनिन्, ‘आमा र बच्चालाई खतरा छ। या नर्मल डेलिभरी गर्न सकिन्न भने सिजेरियन सेक्सन गरिन्छ।’ 

टिचिङ अस्पताल महाराजगंजका प्राविधिक नियन्त्रक अधिकारी गर्भवती महिला र डाक्टरले रिस्क लिन नचाहेको अवस्थामा पनि सिजेरियन सेक्सन गर्ने गरेको बताउँछन्।

सम्बन्धित समाचार

औषधि कम्पनीको सेटिङ : डाक्टरलाई टुरदेखि कार, औषधि बिक्रेतालाई थरिथरिका उपहार

फार्मेसीवाला नै डाक्टर !

‘ड्रगिस्ट’को ‘डोज’ बन्दै क्यान्सरको औषधि!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell