PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

प्रधानमन्त्री अोलीको कार्यशैली प्रति माओवादी मन्त्रीहरूकाे असन्तुष्टि



पहिलोपोस्ट

प्रधानमन्त्री अोलीको कार्यशैली प्रति माओवादी मन्त्रीहरूकाे असन्तुष्टि

काठमाडौं: नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले अध्यक्ष पुष्पकमल दाहाल भेटेर प्रधानमन्त्री केपी शर्मा ‌ओलीको कार्यशौली प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सोमवार ललितपुरको खुमलटारस्थित 'प्रचण्ड' निवासमा पुगेर माअोवादीका मन्त्रीहरूले अध्यक्षसँग असन्तुष्टि पोखेका हुन्। 

मन्त्रीहरूले सचिव सरुवा देखि अन्य कार्यशैलीको विरोध गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टि पोखेको जानकारी दिइन्। 

'प्रधामन्त्रीसँग साथीहरूका केही गुनासो रहेछन्। उहाँहरूले बैठकमा राख्नुभयो,' पहिलो पोस्टसँग उनले भनिन्, 'सरकारले सचिवहरू सरुवा गर्दा हाम्रो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलार्इ जानकारी नै दिइएनछ। उहाँहरूले सरुवाबारे जानकारी नै नपाएको बताउनुभयो।' यस विषयमा थप छलफल नभएको उनले बताइन्। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३० जना सचिवको सरुवा गरेको थियो। सचिव सरुवाको विषयमा कुनै पनि छलफल नै नगरी प्रधानमन्त्री ओलीले एकलौटी रूपमा निर्णय गरेको भन्दै माअोवादी केन्द्रका मन्त्रीहरूले प्रधानमन्त्रीको अालोचना गरेका थिए। 

प्रधानमन्त्री अोलीले सरकारका कार्यक्रममा एमालेका मन्त्री र नेताहरूलार्इ मात्र सहभागी गराउने गरेको आरोप माअोवादी मन्त्रीहरूले लगाए। 'सरकारका कार्यक्रमहरूमा हामीलार्इ सहभागी नगराउने, सरकारका महत्त्वपूर्ण निर्णयहरूमा समेत हामीलार्इ सामेल नगर्ने रवैया प्रधानमन्त्री ज्यूको देखिएको छ,' बैठकमा सहभागी एक मन्त्रीले भने, 'हामीले अध्यक्ष ज्यूलार्इ यस विषयमा अवगत गराएका छौँ, उहाँले यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताउनु भएको छ।'

दुई साता अगाडि प्रधानमन्त्रीले विदेशी नियोगका प्रमुखसँग भएको व्रिफिङमा समेत माअोवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलार्इ सहभागी गराएका थिएनन्। सो व्रिफिङबारे समेत अाफूहरूले जानकारी नै नपाएको माअोवादी केन्द्रबाट सरकारमा सहभागी ती मन्त्रीले जानकारी दिए। 

यसैबीच बैठकमा सहभागी मन्त्रीहरूलार्इ अध्यक्ष प्रचण्डले बजेट निर्माण लगायतका जनताले अपेक्षा गरे अनुसार काम गर्न निर्देशन दिएका छन्। 

पार्टीकी प्रवक्त भुसालका अनुसार अध्यक्षले मन्त्रीहरूलार्इ जनताले महशुस गर्ने गरी काम गर्न निर्देशन दिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell