काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा पार्टीका थिंक ट्याङ्क जम्मा गर्न थालेको आरोप लगाएका छन्।
सरकारले हालै जारी गरेको श्वेतपत्र र प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महतले राजश्व र अनुसन्धान विभाग प्रधानमन्त्री मातहतमा तानेर आफू अनुकुलका मानिसहरु भर्ती गर्न लागेको आरोप लगाएका हुन्।
'राजश्वलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइयो। अनुसन्धान पनि त्यहीँ राख्ने। पार्टी समर्थित थिंकट्यांक त्यहाँ ल्याइँदैछ। पार्टी समर्थकहरुले राजश्व अनुसन्धान गर्न थालेपछि, अरु काम गर्न थालेपछि के हुन्छ?' महतको प्रश्न थियो।
त्यसैगरी महतले प्रधानमन्त्री कार्यालयमा पार्टी समर्थित कार्यकर्ताको भर्ती शुरु भएको धारणा राखे।
राज्य संरचनालाई पार्टीकरण गर्न खोज्यो भने अत्यन्त नकारात्मक सन्देश जाने र देश उल्टो बाटोतिर जाने खतरा रहने उनले दाबी गरे। कानुन, विज्ञलाई पाखा लगाएर गरिने यस्ता कार्यले लगानीसमेत रोकिने महतको धारणा थियो।
त्यसैगरी उनले देशमा तीन तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विकासको बाटो खुलेको बेला श्वेतपत्रमार्फत सरकारले उल्टो बाटो हिँडेको दाबी गरे। 'निर्वाचन सम्पन्न भयो। यसले देशको अर्थतन्त्र सकारात्मकतर्फ गएको थियो। तर, श्वेतपत्रले नकारात्मक देखायो। उल्टोबाटो देखायो,' महतले भने।
महतले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा काठमाडौँसम्म रेल ल्याउने विषयमा भएको सहमतिलाई भने स्वागतयोग्य भन्दै प्रशंसा गरे।