सुर्खेत : कर्णाली प्रदेशको संसद्ले चारवटा संसदीय समिति गठन गरेको छ। आज बसेको संसद्को पहिलो अधिवेशनको १०औँ बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो।
विधायन तथा प्रदेश मामिला समितिमा सांसदहरु चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मीनासिंह रखाल सदस्य रहेको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए।
सभामुख शाहीका अनुसार सार्वजनिक लेखा समितिमा सांसदहरु करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनबन्धु श्रेष्ठ र बद्मी क्वारी बोहरा सदस्य छन्।
त्यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा सांसदहरु अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, धीरबहादुर शाही, यामलाल कँडेल, सीताकुमारी नेपाली, सोशीला शाही र हिमबहादुर शाही सदस्य छन् भने सामाजिक विकास समितिमा कृष्ण शाह, कौशीलावती खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशीलकुमार थापा सदस्य छन्।
चारवटै समितिमा रहने सदस्यहरुको नाम संसद् बैठकबाट सर्वसम्मत अनुमोदन भएको सभामुख शाहीले जानकारी दिए।
समितिका सदस्यहरुको बैठकबाट अध्यक्ष चयन गरिनेछ। संसद्को आठौँ बैठकले समितिमा सभापतिको सट्टा अध्यक्ष राख्ने निर्णय पारित गरेको थियो।