काठमाडौं : देशका शासक अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कर्णालीको पहिलो पर्यटक बन्ने घोषणा गरेको दुई हप्ता पुग्दैछ। अबको केही दिनमै प्रधानमन्त्री ओली कर्णाली पुग्दैछन्, पर्यटन वर्षको बिगुल फुक्न। देशवासीको नाममा सम्बोधन गर्न। देशभित्रै पर्यटक बनेर।
यस बीचमा प्रधानमन्त्री ओली जम्बो टोली लिएर दिल्ली टुरमा निस्के। कर्णालीभन्दा टाढा रहेको नैनीताल नजिकै रहेको युनिभर्सिटी पुगेर कम्प्लिमेन्ट्री पीएचडी ग्रहण गरेर फर्के। कृषि कलेजमा पुगेर विज्ञानको डिग्री थापे।
डिग्रीको टोपी लगाएपछि प्रधानमन्त्री ओलीले नेपालमा ७० प्रतिशत जनता कृषिमा आश्रित रहेको बताउँदै आफूलाई डिग्री दिने विश्वविद्यालयसँग नेपालले सहकार्य गर्ने वचन दिए।
खेतबारीमा हलो कोदालो चलाएर पीएचडी गरेका हाम्रा बाआमालाई कृषि क्षेत्रको विकासका लागि सर्टिफिकेट र उपाधिको कुनै जरुरत छैन।
यद्यपि, उहाँहरु वर्षेनी आफ्नै खेतबारीमा विषेशज्ञका रुपमा खटिरहनुभएको छ। बाली कसरी फस्टाउने, कस्तो अवस्थामा कीरा लाग्छ, माटोको शक्ति कसरी क्षय हुँदैछ। मौलिक बिऊहरु कसरी लोप हुँदैछ। यो अहिले बाआमाको चिन्ताको विषय हो। उहाँहरुलाई न त उपाधिको खाँचो छ न त पुरस्कारको। केबल सन्ततीले माटो नबिर्सोस् र आफू जन्मेको, हुर्केको माटोलाई माया गरोस् भन्ने चाहना छ।
आफ्नै माटो नभुलुन्, आफ्नै बाटो नभुलुन्। यही कुरा हाम्रा देशका प्रधानमन्त्रीले पनि पालना गर्नुपर्ने हो। अनि देशवासीको नाममा सम्बोधन गर्दैछन्।
काठमाडौंबाट ८३३ किमि टाढा रहेको नैनीताल नजिकै पुगेर डिग्री थापेका प्रधानमन्त्री ओली काठमाडौंबाट ३७५ किमि टाढा रहेको कर्णालीमा पर्यटक बनेर जाँदैछन्।
७० प्रतिशत जनता कृषिमा निर्भर हो भने प्रधानमन्त्री ओलीको आकर्षण पर्यटनप्रति यति विधि किन? देशको अधिकांश जनता कृषिमा आत्मनिर्भर रहेको भन्दै प्रचारमा हिड्ने सरकारले एउटा कुरा बुझ्नुपर्ने के हो भने ७० प्रतिशत जनता घुम्दै हिँडे खेतबारीमा कमाई कहिले लगाउने?
देश घुम्ने हो, पर्यटन वर्ष मनाउने नै हो भने कुनै ठाउँमा किन जाने? हरेक ठाउँ घुम्नुको उद्देश्य हुन्छ। तातोपानीमा छालाका रोगीहरु जान्छन्। छालाका रोगबाट उन्मुक्ति पाउने आशामा। घान्द्रुक जान्छन्, गुरुङ संस्कृति बुझ्न।
सरकारको पछिल्लो पर्यटन वर्षको उद्देश्य के? उद्देश्यविनाको घुमघामले के शिक्षा लिने? पाँचथरका राई दार्चुला जाँदा के सिक्ने? सोलुका शेर्पा सप्तरी पुगेर के बुझ्ने? के ज्ञान हासिल गर्ने?
मन्दिरमा दुई चार पैसा चढाउने र गुम्बामा दुईचार फन्को लाउनु आजको यात्रा हुन सक्दैन। शिक्षामुलक र उद्देश्यबिनाको पर्यटन आजको पर्यटन हुन सक्दैन।
वाइफाइ निशुल्क उपलब्ध गराएर पर्यटन बढ्दैन। वाइफाइ चलाउनै पर्यटक कुनै पर्यटकीय क्षेत्र पुग्न आवश्यक ठान्दैन।
शिक्षामुलक यात्रा हुनुपर्छ। रारालाई रारा नै रहन दिनुपर्छ। सैपाललाई सैपाल नै रहन दिनुपर्छ।
'कर्णाली प्रदेशले आयोजना गर्न लागेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु,' चैत १४ गते अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए।
ओलीको समृद्धि र विकासको नारातिर आकर्षित हुदैं गर्दा यी वाक्यमा धेरैको ध्यान नगएको देखियो।
केन्द्रले सधै उपेक्षा गरेको कर्णालीमा सरकारका प्रमुख पर्यटक बनेर पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न जान लाग्दा त्यहाँको जनतामा खुशी फैलिएको हुन सक्छ।
तर, प्रधानमन्त्रीले आफ्नो देशभित्रै पर्यटक बन्छु भन्नु कतिसम्मको गैरजिम्मेवारीपन हो। कतिसम्मको आपत्तिजनक हो।
ओली त्यहाँ बसेर अरुलाई पर्यटकका रुपमा स्वागत गर्न सक्थे। तर, ओलीको अभिव्यक्तिले त्यस्तो व्यक्त गरेन। देशलाई माया गर्ने प्रधानमन्त्रीका रुपमा चिनिएका ओलीको यो अभिव्यक्तिले उनमा देशप्रेम कतिको रहेछ भन्ने पनि खुलेको छ।
हामी आन्तरिक पर्यटक हौँ। देशका कुनाकुनामा पुग्दा हामी आन्तरिक पर्यटक बन्न सक्छौं। तर, प्रधानमन्त्रीलाई यो नियम लागू हुँदैन। प्रधानमन्त्री देशका सम्मानित संस्था हो। पर्यटक बन्ने होइन, प्रधानमन्त्रीले देशको कुनाकुना पुगेर पर्यटकलाई स्वागत गर्ने वातावरण बन्नुपर्छ।