काठमाडौँः सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धी मन्त्रालयका अधिकारीहरूलाई सम्बन्धित मन्त्रालय मातहतका योजनाको सूची तयार गर्ने निर्देशन दिएका थिए। सोही अनुरूप मन्त्रालयहरूले योजनाका सूची तथा विस्तृत योजनाहरू तयार पारिरहेका छन्।
नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारले आफ्नो चुनावी घोषणापत्रमा समावेश भएका योजनाहरूलाई समावेश गरी सरकारको नीति तथा कार्यक्रम निर्माण गरिरहेको छ।
समृद्ध नेपाल निमार्णको खाका कोर्ने गरी नीति तथा कार्यक्रमको तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिए। उनका अनुसार चुनावका वेला मतदाता समक्ष गरिएका बाचाहरूलाई पूरा गर्ने गरी नीति तथा कार्यक्रम बनाउन लागिएको छ।
बाम गठबन्धनले सरकारका सुशासन र विकासका प्राथमिकता बारे सुझाव दिन गत माघ ७ गते एमाले उपाध्यक्ष बामदेब गौतमको संयोजकत्वमा सात सदस्यी कार्यदल बनाएको थियो । सोही कार्यदलले चुनावी घोषणापत्रमा समावेश गरिएका समृद्धिका योजनाहरूलाई समावेश गरी विभिन्न योजनाहरू सहित सुभाब गठबन्धनलाई बुझाएको छ।
सोही अनुसार सरकारले नीति तथा कार्यक्रमको तयारी गरिरहेको हो।
गठबन्धनले चुनावी घोषणापत्रमा पाँच वर्षमा पूर्व–पश्चिम रेलमार्ग निमार्ण सम्बन्न गर्ने, रसुवागढी काठमाडौँ–वीरगन्ज तीव्र गतिको विद्युतीय रेल सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सोही अनुरूप योजना सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम बनाउन कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको थियो।
त्यस्तै बाम गठबन्धनले पूर्वपश्चिम रेलमार्गको समानान्तर पुष्पलाल लोकमार्गमा समेत तिब्रगतीको विद्युतीय रेल सञ्चालन गर्ने घोषणा गरेको थियो। यी सबै विषयहरूलाई गौतम नेतृत्वको कार्यादलले समावेश गरी सुझाव दिएको छ।
बाम गठबन्धनले निर्वाचन अगाडि ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा दिएर चुनावमा होमिएको थियो। प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्री ओलीले समेत यही नारालाई पटक पटक उठाउँदै आएका छन्।
सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहित आफ्नो नीति तथा कार्यक्रम तयार गरिरहेको हो। सरकारको नीति तथा कार्यक्रममा बाम बठबन्धनको घोषणापत्रमा समावेश भएका योजनाहरू हुने छन्।
‘हामीलाई प्रधानमन्त्री ज्यूले एउटा गाइडलाइन दिनुभएको छ, सोही अनुरूप मन्त्रालय मातहतका योजनाहरू तयार गरिरहेका छौँ,’ सरकारका एक सचिवले भने, ‘मुख्य गरी उहाँहरूले चुनावमा गरेका बाचाहरू अनुरूप हामीलाई कार्यक्रम तयार गर्न भन्नु भएको छ।’
मन्त्रालयहरूबाट योजना तथा कार्यक्रमहरू बुझाएपछि तीनै योजनालाई छनोट गरी सरकारले सांक्षेपीकरण गरी नीति तथा कार्यक्रम तयार गरिने छ। सरकारले जेठमा आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छ।