PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

भारतमा दुर्घटना १८ को मृत्यु, १५ घाइते



पहिलोपोस्ट

भारतमा दुर्घटना १८ को मृत्यु, १५ घाइते

नयाँदिल्लीः भारतमा मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। 

भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ। घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ। 

'सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुरलाई बोकेर ल्याइरहेको थियो, त्यो ट्रक आज बिहान खान्डाला भन्ने ठाउँमा दुर्घटनामा परेको छ,' पुनेका एकजना प्रहरी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने, 'ट्रक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन्।' 

अधिकारीहरुका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए। 

घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ। उपचार भइरहेका घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुको भनाइ छ। 

यसअघि गत सोमबार हिमाञ्चल प्रदेशमा भएको विद्यालय बस दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए। 

मृत्यु हुने र घाइते हुनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिका रहेका बताइएको छ। 

काँगडा जिल्लाको नुरपुरस्थित वजिर रामसिंह पठनीय मेमोरियल स्कूलका झण्डै ४० जना विद्यार्थी लिएर गइरहेको बस दुर्घटना भएको हो। 

सडकबाट झण्डै २०० फिट तल गहिरो खोँचमा खसेको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २७ जना विद्यार्थी, दुईजना शिक्षक र एकजना बस चालक रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell