काठमाडौँः पाकिस्तानले नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति बढाएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले नेपालको राजकीय भ्रमणको क्रममा नेपाली विद्यार्थीलाई दिइँदै आएको छात्रवृत्ति ‘सिट’बढाउने घोषणा गरेका थिए।
सोही घोषणा अनुरूप काठमाडौस्थित पाकिस्तानी दूतावासले छात्रवृत्ति दोब्बर बनाइएको जनाएको छ।
पाँच वर्षयता पाकिस्तानले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
सोही अनुरूप दूतावासले मंगलबार २५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल-पाकिस्तान सांस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशमसेर जबराले संयुक्त रूपमा ४० जिल्लाका सामुदायिक तथा निजी विद्यालयका २५० विद्यार्थीलार्इ छात्रवृत्ति प्रदान गरेका छन्।
विद्यार्थीहरुलार्इ जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिएको हो।
कार्यक्रममा राजदूत जाबेदले पाकिस्तान-नेपाल सम्बन्धलाई थप प्रगाढ तुल्याउने महत्त्वपूर्ण माध्यमका रूपमा शैक्षिक उन्नयन एवं छात्रवृत्ति भएको बताए। उनले सरकारी निर्णयअनुरुप आगामी वर्षदेखि छात्रवृत्ति सिट र संख्या शतप्रतिशतले वृद्धि गरिएको जानकारी दिए।