
काठमाडौँ : नेपाल प्रहरीको २६ औं महानिरीक्षक नियुक्तिका लागि सत्तारुढ दलका नेताहरुबीच सहमति जुटेको छ। अन्ततः सरकारले वरिष्ठताकै आधारमा डिआइजी सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाउने भएको छ।
यससम्बन्धी औपचारिक निर्णय मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ।
खनालले ७२ हजार प्रहरी फोर्सको नेतृत्व आगामी २१ महिनासम्म गर्नेछन्। यसैगरी सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त हुने भएका छन्।
गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा सर्वेन्द्र खनाल सबैभन्दा बढी अंकसहित एक नम्बरमा थिए। दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की थिए। खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए। त्यस्तै खरेल र खनालले क्रमश ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए।
नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार आइजीपी नियुक्तीका लागि प्रस्ताव पेश गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सामर्थ्यको मूल्याङ्कन गर्नुपर्नेमा अघिल्लो पटक अदालतसमेत विवादमा पर्ने गरी चलेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कनलाई प्रमुख आधार मानिएको थियो।
खनाल नेपाल प्रहरीमा निडर र प्रभावशाली प्रहरीका रुपमा चिनिन्छन्। २०२३ सालमा तनहुँमा जन्मेका खनालले देशमा विद्यमान गुन्डागर्दी, आर्थिक ठगी र खेलकुद क्षेत्रमा देखिएका अपराधका विषयमा उल्लेखनीय काम गरेका छन्। आर्थिक विवादमा पनि नमुछिएर क्लिन छवि कायम गर्न उनी सफल छन्।
२०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका खनाल महानगरीय अपराध अनुसन्धान महाशाखामा रहदा गुन्डा नाइके कुमार घैँटेको इन्काउन्टरका कारण चर्चामा आएका थिए। २०७२ साल भदौ ३ गते घैँटे इन्काउन्टरमा मारिएका थिए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरी अनुसन्धान गरेपछि खनाल झनै चर्चामा आएका थिए। यो मुद्दा अदालतमा जारी छ।
विभिन्न उपकरण जडान जडान गरी तेलको मात्रा कम गरी पेट्रोलियम पदार्थ बेच्ने गिरोहको भण्डाफोर गर्दै हत्कडी लगाउँदा पनि उनी फेरि चर्चामा आए।
शान्ति विद्या निकेतनबाट २०३८ सालमा एसएसलसी उत्तीर्ण गरेका खनालले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका थिए। विभिन्न जिल्लाको कमान्ड सम्हालेको अनुभव पनि खनालसँग छ। तराईका जिल्लामा हुने तस्करी र गुन्डागर्दी नियन्त्रणमा पनि उनको महत्वपूर्ण भूमिका थियो।
प्रहरी निरीक्षक भएको नौ वर्षपछि उनी डिएसपीमा बढुवा भएका थिए। २०६८ सालमा एसएसपीमा बढुवा भएका खनाल पोहोर डिआइजीमा बढुवा भएका थिए। बहालवाला सबै एआइजीको अवकाश हुने भएकोले उनको सीधै डिआइजीबाट आइजीमा बढुवा भएको हो।
डिआइजी भएलगत्तै खनालले ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए।