काठमाडौं : आन्द्रे रसेलको विष्फोटक ब्याटिङलाई छायाँमा पार्दै चेन्नाई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै आइपीएलमा लगातार दोस्रो जित हात पारेको छ।
साम बिलिङ्सको आक्रमक अर्धशतक तथा ड्वाने ब्राभो र रविन्द्र जडेजाले अन्तिम ओभरमा उत्कृष्ट पारी खेलेपछि चेन्नाईले २०३ रनको लक्ष्य १ बल बाँकी छदै पुरा गर्यो।
अन्तिम ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले छक्का प्रहार गर्दै चेन्नाईलाई जित दिलाएका हुन्।
चेन्नाईका लागि बिलिङ्सले २३ बल खेल्दै २ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ५६ रन बनाए। २०३ रनको उच्च लक्ष्य पछ्याउने क्रममा शेन वाट्सन र अम्बाटे राएडुले शानदार सुरुवात गर्दै पहिलो विकेटका लागि पावर प्लेमै ७५ रनको साझेदारी गरेका थिए। १९ बल खेलेका वाट्सनले समान ३ चौका र छक्काको मद्दतमा ४२ रन जोडे।
यस्तै अम्बाटे राएडुले ३९, कप्तान महेन्द्र सिंह धोनीले २७ तथा सुरेश रैनाले १४ रन बनाए। ब्राभो र जडेजा समान ११ रनमा नटआउट रहे। बलिङमा टम कुरानले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले आन्द्र रसेलको ८८ रन मद्दतमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो। रसेलले ३६ बल खेल्दै १ चौका र ११ छक्काको मद्दतमा नटआउट ८८ रन बनाए। १० ओभरमा ८९ रन बनाउँदा ५ विकेट गुमाएको कोलकताको इनिङ्स उकासने क्रममा रसेलले छैटौँ विकेटको लागि दिनेश कार्तिकसँग ७६ रनको साझेदारी गरेका थिए।
कार्तिकले २५ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए। यस्तै रोविन उथापाले २९ तथा क्रिस लिनले २२ रन जोडे। बलिङमा वाट्सनले २ विकेट लिए।