
काठमाडौं: सरकारले मंगलवार डिआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेसँगै महानिरीक्षक बन्ने दौडमा रहेका रमेश खरेल र पुष्कर कार्कीको प्रतिक्रिया आउन थालेको छ।
खनालको नियुक्तिसँगै बरियता क्रममको दोस्रो स्थानमा रहेका डिआइजी रमेश खरेल राजीनामा दिने भन्दै घूर्की देखाएका छन्। बुधवार प्रकाशित नयाँ पत्रिका दैनिकमा खरेलले पदबाट राजीनामा दिने प्रतिक्रिया दिएका छन्।
गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खनाल सबैभन्दा बढी अंकसहित एक नम्बरमा थिए। दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की थिए।
खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए। त्यस्तै खरेल र खनालले क्रमश ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा रहेका खरेलले पहिलोपोस्टसँगको कुराकानीमा केही समयपछि निर्णय गर्ने बताए। डिआइजी खरेलले भने, 'यो बिषयमा केही सोचेरै भन्छु।'
तेस्रो बरियता रहेका डिआइजी पुष्कर कार्की भने सरकारको निर्णयमा आफूले सम्मान गर्ने बताए। कार्की भन्छन्, 'सरकारले आफ्नो हिसाबले आफ्नो तरिकाले काम गर्यो। हामीले संगठनमा रहेर व्यावसायिक निष्ठा अनुसार काम गर्नुपर्छ।'
आफू अनुकूल पद नपाएर राजीनामा दिने र अदालत धाउने प्रक्रियाले संगठनको छवि र गलत नजिर बस्ने पूर्वप्रहरीहरु बताउँछन्।