
काठमाडौं: २६ वर्षीय खुमानसिंह थापा पोल्यान्ड जाने सपना बोकेर काठमाडौं छिरे। पोल्यान्ड जान आवश्यक पर्ने रकमको कुनै समस्या थिएन। त्यसैले पैसा भए त सजिलै पोल्यान्ड पुगिन्छ भन्ने लागेको थियो।
थापाका लागि एकाएक समस्या बनिदियो उनको शैक्षिक योग्यता। एसएसली उतीर्ण गरेको प्रमाणपत्र आवश्यक पर्यो। तर, उनी थिए एसएलसी फेल। के गर्ने होला? अलमलमा परे।
'म तिमिलाई एसएलसीको सर्टिफिकेट बनाइदिन्छु,' चितवनका अर्जुन अधिकारीले यसो भनेपछि उनी ढुक्क भए। ढुङगा खोज्दा देउता पाए झै भयो थापालाई।
केही रकम बुझाएपछि सर्टिफिकेट बन्ने भयो। अर्जुनले सर्टिफिकेट बनाउन बलबहादुर राउतलाई भेटाइदिए।
केही दिनमा नै थापाको हातमा एसएसली पासको सर्टिफिकेट हात पर्यो। 'अब पोल्यान्ड जाने सपना पुरा हुने भयो,' ढुक्क भए थापा।
पोल्यान्ड जान सम्पूर्ण तयारी गरी कन्सुलरमा डकुमेन्ट बुझाएर थापा थप तयारीमा लागे।
कन्सुलरबाट केही दिनमै स्विकृति पाउने आशामा बसेका थापाको हातमा स्वीकृतिपत्र हैन प्रहरीको हतकडी आइपुग्यो।
सरकारी कागज कीर्ते गरेको अभियोगमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले थापालाई पक्राउ गर्यो।
कन्सुलर विभाग त्रिपुरेश्वर दिएको सुचना अनुसार थापालाई नियन्त्रणमा लिएको महाशाखाका एसपी उमाशंकर पजियारले बताए।
एउटै कोठाभित्रको लाखौको कालोधन्दा
थापालाई पक्राउ गरेपछि कागजपत्र कीर्ते गराउने मुख्य व्यक्ति खोज्न प्रहरी लाग्यो। थापाको बयान अनुसार कीर्तेको कागजपत्र बनाउने बलबहादुर राउतको कोठमा प्रहरी पुग्यो।

राउतको कोठमा पुग्दा प्रहरी चकित पर्यो। एक दर्जन दुई दर्जन मात्र होइन हजारौंका सङख्यामा नक्कली कागजपत्र भेटियो । एसएपी पंजियार भन्छन्,' कोठा त सरकारी कार्यलय मात्र होइन बैंकसम्मको अफिस नै रहेछ। जुन कार्यालयको भन्यो त्यही नक्कली प्रमाणपत्र बनाउँदा रहेछन्।'
राउतले विगत चार बर्षदेखि कीर्ते कागजपत्र बनाउने गरेको देखिएको छ। प्रहरीले उनको कोठाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम ४१२ थान, उच्च माध्यमिक शिक्षा परिषद्को होलोग्राम २३ हजार २ सय थान, विभिन्न शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, गरेर ४ हजार थान, विभिन्न बैंकका स्ट्याम्पहरु बरामद गरेको छ।
राउतले एउटा नक्कली कागजपत्र बनाउन १ हजारदेखि ७ हजारसम्म लिने गरेको एसपी पजियारले बताए। 'हलो ग्राम भने उनले भारतको दिल्ली पुगेर ल्याउने गरेको देखियो,' एसपी पजियारले भने।
