काठमाडौं : मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।
आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो।
युवा खेलाडीहरुको प्रतिभालाई बाहिर ल्याउनका लागि पसातै वटै प्रदेश समेटर प्रतियोगिता गर्न लागेको सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए।
एक साता सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक खेल ३० ओभरको हुने र एउटा टिममा १४ खेलाडी, एक प्रशिक्षक र १ व्यवस्थापक रहने आयोजकले जनाएको छ।
त्यसका लागि वैशाख ६ र ७ गते सातवटै प्रदेशमा खेलाडी छनोट गरिने समेत सेन्टरका अध्यक्ष गैरेले बताए।
प्रतियोगिताको विजेताले नगद र क्रिकेट किट्ससहित ५ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद र क्रिकेट किट्ससहित २ लाख ५० हजार बराबरको पुरस्कार हात पार्नेछ।
प्रदेश १ को विटारनगर, प्रदेश २ को वीरगन्ज, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को भैरहवा, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीमा खेलाडी छनोट गरिनेछ।
आयोजकका अनुसार छनोट चरणका लागि सात वटै प्रदेशमा रहेको क्रिकेट संघ, क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति, स्थानिय क्रिकेट संघ/संस्था, प्रशिक्षक र विज्ञहरुको सहभागिता खुल्ला छनोट गरिनेछ।
प्रदेशबाट छनोट भएका खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजककले ब्यहोर्ने आयोजकले जनाएको छ।
यसैगरी २०७४ सालभरी क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुमध्ये १ जना पुरुष, १ जना महिला खेलाडी र १ जना प्रशिक्षकलाई नगदसहित मनमोहन राष्ट्रिय क्रिकेट सम्मान २०७४ बाट सम्मानित समेत गरिने सेन्टरका अध्यक्ष गैरेले जानकारी दिए।