PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

राष्ट्रिय भारोत्तोलन : संगिताले तोडिन् १२ वर्ष पुरानो कीर्तिमान



पहिलोपोस्ट

राष्ट्रिय भारोत्तोलन : संगिताले तोडिन् १२ वर्ष पुरानो कीर्तिमान

काठमाडौं : वेइटलिफ्टर संगिता राईले ४८ केजी तौल समूहमा १२ वर्ष पुरानो किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छिन्। उनले काठमाडौँ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान उक्त कीर्तिमान भंग गरेकी हुन् ।

नेपाल पुलिस क्लबकी संगिताले सिनियरतर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाडौँ भएको ३५औं युवराज जन्मोत्सव कपमा राखेको ५३.५ र ११८.५ केजी तौलको कीर्तिमानलाई भंग गर्दै ५४ र १२३ केजीको नयाँ कीर्तिमान राखिन्।

यस्तै संगिताले क्लिन एण्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ६९ केजीका साथ नयाँ कीर्तिमान बनाइन्। उनले दोश्रो लिफ्टमानै कीर्तिमानलाई सुधार गर्दै ६७ केजीको कीर्तिमान राखेकी थिईन्। तेश्रो लिफ्टमा उनले पुन ६९ केजी भार बहन गर्नै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्। यस स्पर्धामा नेपाली सेनाका मनिषा रानाभाटले कुलमा ११६ केजीका साथ रजत र रिता गुरुङले ९३ केजीका साथ कास्य हात पारे।

ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने र राष्ट्रिय टिममा समायोजन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको ४८ केजी तौलकै जुनियरतर्फको प्रतिस्पर्धामा ग्यालेक्सी फिटनेशकी करिना चौधरीले कुलमा ९३ केजी भारबहनका साथ स्वर्ण पाईन्। डिभाईन फिजिकल फिटनेशकी पल्लभी चौधरीले ७३ केजीका साथ रजत र ग्यालेक्सीकै राधा भुजेलले ३५ केजीका साथ कास्य पाईन्।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ ८ राष्ट्रिय कीर्तिमान कायम भएका छन्।

अशोक फिटनेश ईक्विपमेण्ट र हेल्थ ट्याक फिटनेश ईक्विपमेण्टको प्रायोजनमा भएको प्रतियोगितामा महिला तर्फकै सिनियर ५३ केजी तौलमा नेपाल प्रहरी क्लबकी देवी कुमारी चौधरीले स्नाचमा ६५ केजीको नयाँ कीर्तिमान राखिन्। उनले संजु चौधरीले यसै वर्ष पोखरामा सम्पन्न २३औं पुरुष तथा ८औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राखेको ६३ केजी तौलको कीर्तिमान भंग गरिन्। चौधरीले कुलमा १४५ केजी भार बहन गर्दै स्वर्ण जितिन्। दोश्रो स्थानमा रहेकी खर्साल युथ क्लबकी सरस्वती चौधरीले ८५ केजी तौलका साथ रजत हात पारिन्।

यसै स्पर्धाको जुनियरतर्फ ओम फिटनेश तथा अर्डर सप्लायर्सकी संजु चौधरीले तीन कीर्तिमान राखिन्। उनले पोखरामा भएको २३औं पुरुष तथा ८औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्नाचमा राखेको ६३ केजी, स्नाचको ८२ केजी र कुलको १४५ केजीमा सुधार गर्दै ६४, ८४ र १४८ को नयाँ कीर्तिमान रचिन्।

महिलाको ५८ केजी तौलमा स्पोर्टस् हाईवका शितल घिमिरेले स्वर्ण ६६ केजीका साथ स्वर्ण पाईन्। यस्तै जुनियर तर्फ खर्साल युथ क्लबकी काजल यादवले ९७ केजीका साथ स्वर्ण र बिरगंज युनाईटेडकी रविना बस्नेतले ९० केजीका साथ रजत पाईन्।

ललितपुरस्थित स्पोर्टस् हाईवमा भएको प्रतियोगिताको पुरुष ५६ केजी सिनियर तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका तुलाराम महतोले १८२ केजीका साथ स्वर्ण पाए। सेनाकै सन्तोष थपलियाले १६५ केजीका साथ रजत र बिरगंज फिजिकल फिटनेशका अशोक कुमार शाहले १२५ केजीका साथ कास्य पाए। यसै स्पर्धाको जुनियर तर्फ खर्साल युथ क्लबका राम कुमार यादवले १८१ तौलका साथ स्वर्ण जिते। खर्सालकै लालबाबु पासवानले १५३ केजीका साथ रजत र बिरगंज युनाईटेडका राजा शाह कानुले १३५ केजीका साथ कास्य पाए।

पुरुषकै ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले कुल २१० केजी तौल भार बहन गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका नेपाल प्रहरीका मुई लामाले २०१ केजीका साथ रजत र एपिएफ क्लबका सुभाष कुमार साहले १६५ केजीका साथ कास्य पाए। जुनियर तर्फ खर्स्याल युथ क्लबका रमेश झाले १६० केजीका साथ स्वर्ण, डिभाईन फिजिकल फिटनेशका गणेश रानाभाटले १५६ केजीका साथ रजत र बिरगंज युनाईटेडका सजरुद्धिन आलमले १५० केजीका साथ कास्य पाए।

 

कमला श्रेष्ठ घाईते

महिलाको ५८ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नाचमा आफ्नै नाममा रहेको ६७ केजीको कीर्तिमानमा सुधार गर्दै ६८ केजी तौलको नयाँ कीर्तिमान राखे पनि क्लिन एण्ड जर्कमा पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा उनी घाईते हुन पुगिन्। कमलाले स्नाचमा ६७ केजीको कीर्तिमान २०१७ मा तुर्कमेनिस्तानमा भएको पाँचौ मार्सल आर्टस् गेम्समा राखेकी थिईन्।

एशियन प्रतियोगिताका लागि छनौट हुन सफल हुने विश्वास गरिएकी नेपाली सेनाकी कमला श्रेष्ठ क्लिन एण्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने उद्धेश्यका साथ ८७ केजी भार बहन गर्ने क्रममा खुट्टामा चोट लाग्नाका कारण प्रतियोगिताबाट बाहिरन पुगेकी थिईन्। उनकै नाममा ८६ केजीको कीर्तिमान कायम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell