पोखरा: कलाकार तथा फिल्म लेखक खगेन्द्र लामिछानेले पोखरामा पत्रकारसँग अन्तरक्रिया गरे। फिल्म टलकजंग भर्सेस टुल्केदेखि फिल्म लेखनमा सक्रिय उनको लेखनमा 'डमरुको डण्डिबियो' प्रदर्शन हुँदैछ। फिल्मको प्रचार प्रसारमा रहेका उनले आफ्नो अभिनय र लेखन व्यवसायिकताका लागि मात्र नभएको बताए।
चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको फिल्म 'डमरुको डण्डिबियो'को पत्रकार भेटघाट कार्यक्रममा लामिछानले भने ,'म गहन विषय र उपयुक्त कथा बारे पहिला सोच्छु। चल्नु नचल्नु त्यसपछिका कुरा।'
नयाँ फिल्ममा गतवर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डिबियो खेललाई प्रमुख विषय बनाएको भएपनि फिल्मले पारिवारिक तथा प्रेम केन्द्रमा रहेको सुनाए।
कार्यक्रममा कलाकार बुद्धि तामाङको पनि उपस्थिति रहेको थियो। फिल्ममा खगेन्द्र लामिछाने, बुद्धि तामाङसँगै मेनुका प्रधान,अनुप बराल,अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन्।
पोखराबाट औपचारिक रुपमा प्रोमेशन यात्रा सुरु गरेको फिल्म टिम बुटवल, नारायणघाट, हेटौंडा दमक हुँदै बिर्तामोडसम्म पुग्नेछ।
