'संगीत स्टार २०१८' सुरु भएको छ। संगीत फिल्मसको आयोजना रहेको यो रियालिटी सोको अडिसन मोफसलमा सुरु भएको छ। एउटै सोमा गायन तथा नृत्यगरी दुई विधाका प्रतिभा खोजी भइरहेको छ। यो संगीत स्टारको दोश्रो संस्करण हो।
कार्यक्रमका निर्देशक संगीत बस्यालले दिएको जानकारी अनुसार बिराटनगर, ईटहरीसँगै चितवन, हेटौँडा लगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ। देशका १२ शहरमा अडिसन लिने घोषणासहित सुरु भएको कार्यक्रमको अडिसन अब पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा हुनेछ।
४ वर्षदेखि ६५ वर्षको उमेर समुहका जो कोहिले सहभागिता जनाउन सक्नेछन्। अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्स तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन्। पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोश्रो राउण्ड सकिएसँगै तेश्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको 'जजमेन्ट'को आधारमा र क्रमशः चौथो राउण्डमा ४०/६० प्रतिशतको भोटिङ हुँदै १२ वटा शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याइने बताइएको छ।
त्यसबाट गायन र नृत्य दुबै विधाको ३०, ३० जना अन्तिम अडिसनको लागी छनोट हुनेछन्। जुन कार्यक्रमको प्रशारण सम्बन्धित शहरका स्थानिय टेलिभिजनसँगै काष्ठमण्डप टेलिभिजनबाट हुनेछ। फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको चयनको आधारमा अर्को चरण प्रवेश दिने बताईएको छ। यो भन्दा पहिले राजधानीमा कलाकारहरुको उपस्थितीमा कम्तिमा डेढ महिना विधागत प्रशिक्षण दिइने जानकारी छ।
विजेतालाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षणको रुपमा उपस्थित गराउने आयोजकले बताएको छ।