PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

तारादेवीले गरिन् तीन कीर्तिमानमा सुधार, पुकारसँगै स्ट्रङगेष्ट खेलाडी



पहिलोपोस्ट

तारादेवीले गरिन् तीन कीर्तिमानमा सुधार, पुकारसँगै स्ट्रङगेष्ट खेलाडी

काठमाडौं : नेपाल पुलिसकी वेइटलिफ्टर तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन्। उनले काठमाण्डौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान स्नाच, क्लिन एण्ड जर्क र कुलको कीर्तिमानमा सुधार गर्दै स्वर्ण जितिन्।

पुनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६ केजी र कुलमा १६४ केजीको नयाँ कीर्तिमान बनाएकी हुन्। यस अघि उनकै नाममा स्नाचमा ६७ केजी, क्लिन एण्ड जर्कमा ९५ र कुलमा १६२ केजीको कीर्तिमान कायम थियो। उनले सो किर्तिमान २०७० सालमा बिरगंजमा भएको प्रथम शालिमार खुला भारोत्तोलन च्याम्पियनसिपमा राखेकी थिईन्।

यस स्पर्धामा नेपाली सेनाकी उषा खड्काले कुल १३९ केजी भारबहन गर्दै रजत र सेनाकै मन कुमारी कुमालले १३० केजी भारका साथ कास्य पाए। यस्तै सोही तौलको जुनियरतर्फ लाखे फिजिकल फिटनेशकी जयन्ति श्रेष्ठले ९० केजी भारबाहन गर्दै स्वर्ण जितिन्।

यस्तै पुरुषतर्फको १०५ केजी माथीको तौलमा नेपाली सेनाका पुकार गुरुङले स्नाचमा आफ्नै नाममा रहेको १२६ केजीको कीर्तिमानमा सुधार गर्दै १२७ केजी भार बहनका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। उनले २०१७ मा ईरानको अहवाजमा भएको तेश्रो एफएजेआर कप आमन्त्रण भारोत्तोलन च्याम्पियनसिपमा १२६ केजीको कीर्तिमान राखेका थिए। उनले क्लिनमा १४० केजी भारका साथ कुलमा २७६ केजीका साथ स्वर्ण हात पारे। दोश्रो स्थानमा भृकुटी टोल सुधार युवा क्लबका राजीव महर्जनले कुल २०८ केजीका साथ रजत र दीप ज्योती क्लबका सुभाष उपाध्यायले १९७ केजी तौलका साथ कास्य पाए।

राष्ट्रिय कीर्तिमान कायम गर्ने प्रत्येक खेलाडीले प्रत्येक कीर्तिमान बापत नगद एक हजारसमेत प्राप्त गरे।

ललितपुरस्थित स्पोर्टस् हाईवमा भएको प्रतियोगिताको महिला ६३ केजी तौलमा नेपाली सेनाका मनिता श्रेष्ठ र सारदा चौधरीले स्वर्ण र रजत पाए। मनिताले १३६ र चौधरीले १३० केजी कुल भारबहन गरेका थिए। महिलाकै ६९ केजी सिनियर तर्फ नेपाल प्रहरीका राज लक्ष्मी थापा र जानकी बुढाले स्वर्ण र रजत जिते। थापाले कुलमा १५० केजी र बुढाले ११६ केजी भार बहन गरे। जुनियरतर्फ चितवन फिजिकल फिटनेशकी पुजा कुमालले ७० केजी भारका साथ स्वर्ण पाईन्।

९० केजी तौलमा नेपाल पुलिसकी लक्ष्मी बनले कुलमा १४९ केजीका साथ धनगढी युवा क्लबकी ज्योती चौधरीलाई पछि पार्दै स्वर्ण पाईन्। ज्योतीले १०० केजी भार बहन गर्दै रजत जितिन्। जुनियर तर्फ नेपाल ब्यायाम मन्दिरकी विद्या राईले ८० केजी भारका साथ स्वर्ण जितिन्।

खेडीहरुको मुख्य उत्पादन थलो क्लब तथा फिटनेश सेन्टर भएकाले क्लब स्तरबाटनै खेलाडी उत्पादन गर्ने र युवाहरुलाई भारोत्तोलन खेल प्रति आकर्षण गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको पुरुष ६९ केजी सिनियरतर्फको खेलमा ओलम्पियन तथा साग स्वर्ण पदकधारी नेपाली सेनाका कमल बहादुर अधिकारीले स्वर्ण जिते। अधिकारीले कुलमा २५७ केजी भार बहन गरे। दोश्रो भएका एपीएफका महेश चौधरीले १९९ केजी र तेश्रो भएका सेनाका जीवन तामाङले १७२ केजी भार बहन गरे। जुनियरतर्फ फिटनेश तथा अर्डरका प्रकाश के.सी.ले कुल २२५ केजीका साथ स्वर्ण तथा बिरगंज युनाईटेडका निरज गुप्ताले ११५ केजीका साथ रजत पाए। ७७ केजी तौलमा नेपाल प्रहरीका बिकास थापाले स्वर्ण जिते। उनले प्रहरीकै ओम प्रकाश बैश्यलाई पछि पारे। थापाले कुलमा २४७ केजी र बैश्यले २१९ केजी भार उचाले। तेश्रो स्थानमा रहेका सेनाका यज्ञबहादुर सारुले २१३ केजी उचाले। जुनियरतर्फ फिटनेश एण्ड अर्डरका सुरज बैश्यले १७६ केजी उचाल्दै स्वर्ण हात पारे।

अशोक फिटनेश ईक्विपमेण्ट र हेल्थ ट्याक फिटनेश ईक्विपमेण्टको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठले कुलमा २२६ केजी भारका साथ स्वर्ण जिते। दोश्रो स्थानमा रहेका सेनाकै दिनेश कार्कीले २०३ केजी र तेश्रो स्थानमा रहेका एपिएफका तिलक थापाले १८० केजी भार बहन गरे। जुनियर तर्फ दीपज्योती क्लबका बिशाल सिंह बिष्टले कुलमा २१७ केजीका साथ स्वर्ण हात पारे।

पुरुषकै ९४ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २२१ केजीका साथ स्वर्ण, एपिएफका सुजन बि.क.ले १६७ केजीका साथ रजत र ओम फिटनेशका अरविन्द गुप्ताले १६० केजीका साथ कास्य हात पारे। जुनियरतर्फ द पेम्बा क्लबका जयदीप कोजुले १८४ केजीका साथ स्वर्ण र ओम फिटनेशका सदव अमिन सिद्धिकीले १६० केजीका साथ रजत जिते।

१०५ केजी तौल समूहमा नेपाल प्रहरीका सन्देश गुरुङले बीरगंज युनाईटेडका मोहम्मद आशिक हुसेनलाई पछि पार्दै स्वर्ण हात पार्न सफल भए। गुरुङले २४८ केजी र हुसेनले २०० केजी भार बहन गरे। नेपाली सेनाका विनोद खड्काले १८७ केजीका साथ कास्य पाए। जुनियरतर्फ दीपज्योती क्लबका सागर भण्डारीले २०३ केजी भार बहनका साथ स्वर्ण र ओम फिटनेशका रोशन बि.सी.ले १५० केजीका साथ रजत पाए।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, महासचिव पार्थ सारथी सेन गुप्त लगायतले पुरस्कार वितरण गरे।

 

तारादेवी र पुकार स्ट्रङ्गेष्ट खेलाडी

नेपाल प्रहरीकी तारादेवी पुन महिलातर्फ र नेपाली सेनाका पुकार गुरुङ पुरुषतर्फ प्रतियोगिताको स्ट्रङ्गेष्ट खेलाडी घोषित भए। उनीहरुले ट्रफी प्राप्त गरे।

यसैगरि महिलातर्फ जुनियरमा ओम फिटनेशकी संजु चौधरी र सिनियरतर्फ नेपाल प्रहरीकी देवी कुमारी चौधरी उत्कृष्ट लिफ्टर घोषित भए।

पुरुषतर्फ सिनियरमा सेनाका कमलबहादुर अधिकारी र जुनियरतर्फ ओम फिटनेशका प्रकाश के.सी. उत्कृष्ट लिफ्टर घोषित भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल जुनियर पुरुषतर्फ खर्साल युथ क्लबका राम कुमार यादव र महिलातर्फ ग्यालेक्सि फिटनेशकी करिना चौधरी उदियमान खेलाडी घोषित भए।

विजयी सबैले ट्रफी प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell