काठमाडौं : काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता बिहीवारदेखि काठमाडौंमा औपचारिक उद्घाटन भएको छ।
होमल्याण्ड स्पोर्टस क्लव नेपालको आयोजनामा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुन लागेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरे। मन्त्री विश्वकर्माले सरकारी स्तरबाटै आयोजना हुनुपर्ने अन्तर्राष्ट्रियस्तरको यस्ता प्रतियोगिता निजी क्षेत्रले गरेकोमा धन्यबाद दिए।
मन्त्री विश्वकर्माले खेलकुदको समृद्धिका धेरै चुनौति रहेको बताए। राज्यले पनि अहिलेसम्म खेलकुद क्षेत्रको बिकासका लागि अपेक्षाकृत कदम चाल्न नसकेको भन्दै मन्त्रीले भने, ‘राज्यको सीमित श्रोत साधनका कारण पनि खेल क्षेत्रलाई लगानी गर्न नपुगेको होला, यसको अर्थ यो होइन कि राज्यले खेलकुदलाई पूरै वेवास्ता गरेको छ।’
मन्त्री विश्वकर्माले राज्यले स्वास्थ्य क्षेत्रमा गर्ने लगानीलाई घटाएर खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने घारणा राखे। ‘रोग लागेर उपचार गर्न अस्पतालमा लगानी गर्न भन्दा खेलकुदमा लगानी गरौं, स्वस्थ नागरिकको उत्पादन गरौं।’
उदघाटन समारोहमा एशियल जोनल चेस फेडेरेसनका उपाध्यक्ष भगत सिंह चौहानले चेस प्रगियोगिताका लागि नेपालमा पनि प्रायोजनसहितको प्रतियोगिता हुनु आफैंमा गौरवपूर्ण कुरा भएको भन्दै भविश्यमा नेपाली चेसको बिकासका लागि यसले थप सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
६ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु शुक्रबारदेखि सुरु हुनेछन्। प्रतियोगितामा करिव २०० खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा सबैभन्दा धेरै नेपालबाट १०३ जना खेलाडीले सहभागिता जनाएका छन्। त्यस्तै भारतबाट ७० जना, श्रीलंकाबाट ८ जनाका साथै रुस, युक्रेन, इजरायल बेलारुस, स्पेल लगायतका मुलुकका खेलाडीको सहभागिता छ।
प्रतियोगितामा ११ जना ग्राण्ड मास्टर, ३ जना इन्टरनेशनल मास्टर, १० जना क्याण्डिडेड मास्टर र ६ जना फिडे मास्टरले सहभागिता जनाएका छन्।
कुल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछन् भने शीर्ष २० स्थानसम्मकाले पनि पुरस्कार पाउनेछन्।