PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी : परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै



विधुर ढकाल

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी : परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको ६ दिने भ्रमणमा जाने भएका छन्। सोमबार वैसाख ३ गते (१६ अप्रिल) मन्त्री ज्ञवाली चीन भ्रमणमा निस्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ८ गते (२१ अप्रिल)सम्म चीनको भ्रमणमा जान लागेका हुन्। 

चीन भ्रमणमा जाने नेपाली टोलीमा मन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारी तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल समेत रहने छन्। 

मन्त्रालयले शुक्रबार अबेर प्रेस वक्तव्य जारी गर्दै परराष्ट्रमन्त्री चीन जाने जनाएको हो। नयाँ सरकार गठन पछि उत्तरी छिमेकी चीनमा सरकारी तबरबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो। 

उनको यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको रुपमा हेरिएको छ। प्रधानमन्त्री निर्वाचित भएको दुई महिना नपुग्दै प्रधानमन्त्री ओली भारतको तीन दिने राजकीय भ्रमण गरिसकेका छन्। ‘प्रो चाइनिज लिडर’को छवि बनाएका ओलीले पहिला चीन भ्रमण गर्ने अपेक्षा गरिएको थियो। 

अप्रिल ८ देखि ११ सम्म चीनको हैनान प्रान्तको बोआओमा आयोजना भएको बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री चीन जाने अपेक्षा गरिएको थियो। तर, सोही मितिमा भारतले प्रधानमन्त्री ओलीलाई राजकीय भ्रमणको निम्ता दिएपछि उनी फोरममा सहभागी हुन सकेनन्। उनको अनुपस्थितिपछि प्रत्येक वर्ष सम्मेलनमा उच्चस्तरीय सहभागिता गराउँदै आएको नेपालको सहभागिता शून्य भएको थियो।

चिनियाँ राष्ट्रपति सी जिङ पिङसमेत सहभागी भएको सम्मेलनमा नेपाल उपस्थित हुन नसक्दा चीनले असन्तुष्टि जाहेर गरेको थियो। यसबीच चीन पुगेका पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले समेत फोरममा नेपालको सहभागिता नहुनु दुःखद् भएको बताएका थिए।
  
परराष्ट्रमन्त्री ज्ञवाली चीनमा रहँदा चिनियाँ उच्च राजनीतिक नेतृत्वसँग भेट गर्दै दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानको विषयमा छलफल तथा तयारी गर्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए।
 
‘यो भ्रमण नयाँ सरकार बनेपछि पहिलो र महत्त्वपूर्ण हो, भ्रमणले दुई देशबाट उच्चस्तरीय भ्रमणको आदानप्रदानका विषयमा महत्त्व राख्छ,’ ती अधिकारीले पहिलोपोस्टसँग भने, ‘अझै भनौँ प्रधानमन्त्रीज्यूको चीन भ्रमणको तयारीका लागि भएको भ्रमण हो।’ भ्रमणमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा समेत छलफल हुने बताइएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ रहँदा बुधवार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तापछि दुई समकक्षीले संयुक्त पत्रकार सम्मेलनलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख छ।
 
लगत्तै विदेशमन्त्री यीले ज्ञवालीको सम्मानमा दिवा भोज आयोजना गर्ने छन्। बेइजिङ बसाईका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ थिंक ट्यांकको राउड टेवल मिटिङलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
 
परराष्ट्रमन्त्री ज्ञवालीको सम्मानमा वेइजिङस्थित नेपाली दुतावासले मंगलवार कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधि तथा कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग परराष्ट्रमन्त्री ज्ञवालीले अन्तरक्रिया गर्ने छन्।
 
त्यस्तै परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार सीचुवान प्रान्तको चेङ्डु पुग्ने छन्। त्यहाँ उनले प्रान्तका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell