
शुक्रवार मध्यरातिबाट २०७४ बिदा भयो। वितेको वर्ष पनि देशमा अघिल्ला वर्ष झैं आपराधिक गतिविधि बीसबाट उन्नाइस हुन सकेन। चोरी, लुटपाट र डकैतीका घटनामा केही कमी आए पनि हत्या, बलात्कार, तस्करी, अपहरण र फिरौती लगायतका अपराधले वर्षैभरी त्रासित बनाइरह्यो। यस्ता जघन्य अपराधको ग्राफ माथितिर चढिरह्यो।
यस वर्ष तिनै तहका निर्वाचन सम्पन्न भए। सुरक्षाको सबैभन्दा ठूलो चासो यसमै केन्द्रित थियो। हरेक तहका निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको समूहले आफ्नो उपस्थिति देखाउन प्रयास गरिरह्यो। चन्दका कार्यकर्ताले विस्फोट धेरै गराए पनि तिनको तुलनामा हत्या, बलात्कार र तस्करीका घटना 'शक्तिशाली अपराध'का रुपमा स्थापित भए २०७४ सालभर।
गौचन हत्याकाण्ड
२०७४ को मध्यतिर निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भयो। देशको बिजनेस कम्युनिटीलाई तर्साउने गरी भएको यो सबैभन्दा 'हाइ प्रोफाइल' हत्या थियो। अशोज २३ गते बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजरभित्रै निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गोली प्रहार भयो।नयाँ बानेश्वरको ठूलो खरिबोट नजिकै भएको गोली प्रहारबाट घाइते भएका गौचनको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भयो। गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गर्यो भने हत्यामा संलग्न भनिएका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए।
गुन्डा नाइके पुनको इन्काउन्टर
गौचन हत्याकाण्डमा जोडिएको नाममध्ये एक थियो – मनोज पुन। प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके पुन प्रहरी इन्काउन्टरमा मारिए। गौचनको हत्या भएको पाँच महिनापछि पुन प्रहरी इन्काउन्टरमा मारिए। फागुन ९ गते बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरीको मुठभेडमा प्रहरीको चलाएको गोली लागि पुन मारिएको प्रहरीको दावी छ। पुनसँगै उनका सहयोगी सोम आले पनि मारिए। प्रहरीको गोली लागि घाइते दुवैको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। गौचनको हत्यामात्र होइन, युवासंघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या, काठ मिल व्यवसायी बसन्त पौडेलको हत्या पनि पुनकै योजनामा भएको प्रहरीको दावी छ। पुन भारतमा बसेर भारतीय गुन्डा नाइके जोगिन्दर सिंहको निर्देशनमा गुन्डागर्दी गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ।
सुनकाण्डले सताएको वर्ष
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध ३४ केजी सुन बाहिरिँदा २०७३ साल चर्चामा थियो। २०७४ साल पनि सुन तस्करीको मामिलामा कम रहेन। गत वर्षभन्दा तेव्बर बढी तस्करीको सुन प्रहरीले समात्यो। रसुवा केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको ८८ किलो सुन प्रहरीको जालोमा परेको सबैभन्दा ठूलो माछा थियो। भदौ १९ गते महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्षेत्रपाटीबाट गाडी चालक सहित ८८ केजी बरामद गरेको थियो।बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीबाट सुन ल्याइएको थियो। प्रहरीले काठमाडौंको लैनचौरबाट गाडी चालक २४ वर्षीय मनोज अधिकारीलाई पक्रियो। तस्करीका मुख्य नाइके चिनियाँ नागरिक भएको बताइए पनि ती को हुन् भन्ने प्रहरीले खुट्याउन सकेन।
वर्षको अन्त्यतिर अर्को ३३ केजी सुनकाण्ड पनि चर्चामा रह्यो। सुन तस्करीसँगै हत्यासम्मका घटना भए यस प्रकरणमा। मोरङको उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव २०७४ फागुन २१ गते जंगलमा भेटियो। हत्या सुनका कारण भएको प्रहरी अनुसन्धानसँग खुल्दै गयो। हत्याको कारण ३३ केजी सुन रहेको प्रहरीको दावी छ।
शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न भारत लैजाँदै गर्दा प्रहरीले विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोरपिओ नियन्त्रणमा लियो। प्रहरीले ३० वर्षीय गाडी चालक टेकराज मल्ललाई समात्यो। मल्ल काभ्रेका हुन्।
त्यस्तै बा १ च ५३९५ नम्बरको अर्को गाडीलाई नियन्त्रणमा लियो जसमा थिए उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की। दुवै पक्राउ परे। यस घटनालाई लिएर महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सइ बालकृष्ण संञ्जेल पनि अनुसन्धानको घेरमा छन्। उनीहरुलाई महाशाखाको जिम्मेवारीबाट हटाएर गृह मन्त्रालले गठन गरेको छानविन समितिले अनुसन्धान गरिरहेको छ।
सस्तोमै इन्काउन्टर!
ललितपुरको कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा लागू औषध कारोबारमा संलग्न प्रवीण खत्रीको मृत्यु भयो। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले खत्रीमाथि गोली प्रहार गरेको थियो। तर, मृतकका आफन्तको भने निर्दोष व्यक्तिलाई प्रहरीले गोली हानी मारेको बताउँदै आएका छन्। प्रहरीले भने इन्काउन्टर नभएर खत्री आफैंले सुसाइट गरेको दावी गरिरहेको छ। प्रहरीको इन्काउन्टरमा मारिएका खत्री आफैं लागू औषध दुर्व्यसन हुन्। खत्रीले केही वर्षदेखि ब्राउन सुगर लिँदै आएको प्रहरीको दावी छ। अत्यधिक लागूऔषध प्रयोग गरेपछि खत्रीलाई परिवारले सुधार केन्द्रमासमेत राखेको थियो।
सुधार केन्द्रमा रहँदा उनले लागूऔषध खान नपाएपछि बाथरुमको धाराको टुटी नै खाएका थिए। त्यस समय उनको अपरेसन नै गर्नुपरेको थियो।
क्लब डेजभू प्रकरण
क्लब डेजभू प्रकरण निकै चर्चामा रह्यो यो वर्ष। यही विषयलाई लिएर काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालक क्रिकेट खेलाडी पृथु बास्कोटासहित सहित ८ जना प्रहरी हिरासतमा बस्न पुगे। विश्व चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरेको र मार्समेलो नआएको भन्दै दर्शकले क्लब तोडफोड गरेका थिए। महँगो मूल्यमा टिकट बिक्री गरेको भन्दै सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश माडवाडीलाई प्रहरीले पक्राउ गरी ठगी अभियोगमा मुद्दा चलाएको छ।
धर्मगुरुको यौन धन्दा
धर्मगुरुले गुम्वा नै संचालन गरेर यौन दुराचार गर्ने गरेको खुल्यो यसै वर्ष। सिन्धुलीका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई दक्षिणकालीस्थित गुम्बाबाट प्रहरीले पक्राउ गर्यो। उनले महिलालाई विभिन्न लोभ त्रास र धार्मिक आस्था देखाई शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको हो। अवतारी लामा भएको र जस्तोसुकै रोग पनि निको पार्ने भन्दै महिलालाई एकान्त कोठामा लगेर जबरजस्ती गर्दै आएका थिए उनले। आफूले गरेको कूकृत्य अरु कसैलाइ सुनाए रोग निको नहुने र मृत्यु हुने भन्दै तर्साउँथे उनले। लामाले सामाजिक सञ्जालमा महिलाको नग्न तस्विरसमेत पोस्ट गर्ने गरेको खुल्यो।
राजधानीका गोलीकाण्ड
कमलादीमा भएको गोलीकाण्ड पनि प्रहरीका लागि टाउको दुखाइको विषय बन्यो २०७४ सालमा। कमलादीको हेरिटेज प्लाजामा युवतीको विषयमा विवाद हुँदा भारतीय नागरिकले गोली चलाएका थिए। प्रहरी गोली चलाउने भारतीय नागरिक जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंहलाई पक्राउ गर्न सफल भयो। म्हेपी गोलीकाण्डले पनि यस वर्ष आतंकित बनायो। रानीबारी बस्ने गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली प्रहार भयो। घटनामा संलग्न नागार्जुन नगरपालिका–५ स्वयम्भू बस्ने ३६ वर्षीय असुन गुरुङ, चितवन सौराहा–१६ घर भई काठमाडौँ महानगरपालिका–१६ डेरा गरी बस्ने २३ वर्षीया सविना क्षेत्री, नुवाकोट खानीगाउँ–४ घर भई काठमाडौँ महानगरपालिका–१६ नयाँबजार डेरा गरी बस्ने ३५ वर्षीय नवराज लामिछाने र काठमाडौँ महानगरपालिका–१२ बस्ने ३१ वर्षीय सुरेन्द्र शाही पक्राउ परे।
राति २ बजेसम्म ठमेलको सिएनआइ डिस्कोमा युवतीको विषयमा विवाद हुँदा गोली प्रहार भएको थियो। बा ५७ प ६९५७ नम्बरको स्कुटरमा रहेका कल्याणले सविनालाई पछ्याएका ।
आफूलाई कल्याणले पिछा गरेको थाहा पाएपछि सविनाले फोन गरेर असुनलाई बोलाइन्। सेतो कारमा आएका असुनले सविनालाई आफ्नै कारमा राखे। असुन आएपछि पनि कल्याणले सविनाको पिछा गर्न छोडेनन्। त्यसपछि कारमा रहेका असुनले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेका थिए।
साना तिना हतियार सहित मानिस पक्राउ भइ नै रहे यस वर्ष।
गुन्डा नाइके गणेश लामा हतियार सहित काठकाडौंको गौशालाबाट पक्राउ परे। लामालाई हातहतियार खरखजना मुद्दामा पुर्पक्षको लागी जेल चलान गरिएको छ। मानव तस्करीमा कलाकार राजेन्द्र खड्गी यसैवर्ष पक्राउ परे।
लामो समयदेखि फरार सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल, प्रतिनिधिसभा सासद रेशम चौधरी पक्राउ घटना पनि चर्चामा नै रह्यो। सांसद नवराज सिलवाल प्रहरीको खोजी सूचीमा र डिफ्युजन नोटिस जस्ता घटना यस वर्ष चर्चामा रहे।
व्यापारीको हत्या : युवतीको प्रयोग
दाङ तुलसीपुरका कपडा व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको अपहरण गरी हत्या भएको प्रकरणले यो वर्ष सबैलाई त्रसित बनायो। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गर्न सफल भयो। घटनाका मुख्य योजनाकार मानिएका झिम्पे ४, सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर २ घर भई तुलसीपुर ६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी पूजा घर्तीलगायत चार जनालाई पक्राउ गर्न प्रहरी सफल भयो। उनीहरु पुर्पक्षका लागि थुनामा छन्।
जेठ २६ गते राति अपहरित श्रेष्ठको शव कुहिएको अवस्थामा असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका लेक भञ्ज्याङमा रहेको जंगलमा प्रहरीले फेला परेको थियो। पैसा असुल्ने उद्देश्यले श्रेष्ठको अपहरण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अपहरणको मुख्य योजनाकार ४० वर्षीय निर्मल भनिने टीकाराम घर्तीले तीन करोड रुपैयाँ फिरौतीका रुपमा मागेको खुलेको हो।
उनले आफ्नी १८ वर्षकी छोरी पूजालाई प्रयोग गरेर अपहरण गरेका थिए। जेठी छोरी पूजाको रुपजालमा पारेर श्रेष्ठको अपहरण गरेका थिए।