
काठमाडौं : नयाँ वर्ष मनाउने क्रममा होहल्ला, झगडा र लुटपाट गर्ने १ सय ६१ जनालाई प्रहरीले पक्रेको छ। शुक्रवार राति काठमाडौंका ठमेल, दरबारमार्ग, जमल, बागबजार, नयाँ बसपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी मोहनकुमार थापाले बताए।
डिएसपी थापाले भने, 'नयाँ वर्षको अवसरमा उश्रृङ्खल गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएका हौं।' सार्वजनिक स्थानमा भएको झगडामा १६ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवा समातिएका छन्। प्रहरीले नियन्त्रणमा लिएका मध्ये ४ जना युवती पनि छन्।
नयाँ वर्षलाई सुरक्षित र शान्त बनाउन प्रहरीले ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। नियन्त्रणमा लिएकामध्ये केहीलाई सम्झाई बुझाइ आफन्तको जिम्मा लगाइने र केहीलाई सार्वजनिक अपराधमा अनुसन्धान अगाडि बढाइने डिएसपी थापाले बताए।