PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रधानमन्त्री ओली र पत्नी राधिकाद्वारा मुगुका दुई बालिकालाई विद्यालय भर्ना, अभिभावकत्व ग्रहण



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र पत्नी राधिकाद्वारा मुगुका दुई बालिकालाई विद्यालय भर्ना, अभिभावकत्व ग्रहण

काठमाडौँः दुई वर्षभित्र निरक्षरता हटाउने उद्देश्य अनुसार सुरु गरिएको विद्यालय भर्ना अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा ६ वर्षीय एक बालिकालाई विद्यालय भर्ना गरेका छन्। अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरेको हुन्। 

२०६८ साल चैत १९ जन्मिएकी तामाङलाई प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै बुद्ध मावि माङ्ग्रीमा भर्ना गरेका हुन्।

प्रधानमन्त्रीले छात्राको अभिभावकत्वग्रहण पुस्तिकामा हस्ताक्षर गरेका छन्। सो अवसरका प्रधानमन्त्रीले छात्रा तामाङलाई पोशाक र पुस्तक प्रदान गरे।

यस्तै, प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेकी छन्। शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छन्। छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन्।

रारा पर्यटन महोत्सवमा पुगेका प्रधानमन्त्रीले विद्यालय भर्ना अभियान सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिँदै विद्यालय भर्ना गरेका हुन्।

दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै सरकारले विशेष रुपमा विद्यालय भर्ना अभियान सुरु गरेको छ। एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सरकारको अभियानमा सघाउ पुर्‍याउन प्रधानमन्त्रीले यसअघि अपील गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell