PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पार्टी एकतामा गतिरोध : प्रचण्डमाथि फिप्टी–फिप्टीको दबाब



विधुर ढकाल

पार्टी एकतामा गतिरोध : प्रचण्डमाथि फिप्टी–फिप्टीको दबाब

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वैसाख ९ गते पार्टी एकताको घोषणा गर्ने दुई दलका नेताहरुले सार्वजनिक रुपमा बताउँदै आए पनि एकताका लागि गठन भएको 'पार्टी एकता संयोजन समिति'को बैठकसमेत बस्न सकिरहेको छैन। 

चैत २२ गते बसेको समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बैठक बसी विवादित विषय टुंग्याएर एकताको घोषणा गर्ने निर्णय गरेको थियो। सोही बैठकले दुवै दलभित्र एकताका लागि आन्तरिक तयारी गर्दै छलफललाई तिब्र बनाउने निर्णय गरेको थियो। 
प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको पनि सात दिन पुगेको छ। यसबीच न दुई दलले आन्तरिक रुपमा पार्टीभित्र तयारी गरेका छन्, न त संयोजन समितिको बैठक नै बस्न सकेको छ। 

यसबीच एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यस्तताका कारण बस्न सकेनन्। 

यता प्रचण्डमाथि ‘जनयुद्ध’ र एकतामा समान हैसियत (फिप्टी–फिप्टी) लिएर दबाब बढ्दै गएको छ। आइतबार मात्र वाइसीएलको केन्द्रीय पदाधिकारीसहितको टोलीले पार्टीको विधानमा ‘जनयुद्ध’ समेट्न दबाब दिएका छन्। 

माओवादी केन्द्रको युवा फ्याक्सन ईञ्चार्ज मणि थापा सहित वाइसीएलका अध्यक्ष दीपशिखासहितका पदाधिकारीले प्रचण्ड निवास खुमलटारमा पुगेर यस्तो दबाब दिएका हुन्। वाइसीएलका पदाधिकारीले पार्टी एकता समान हैसियतमा नभए युवाहरुलाई मान्य नहुने समेत ध्यानाकृष्ट गराए। 

एकताका लागि गृहकार्य गर्नुपर्ने समयमा माओवादीभित्र एकताको विषयलाई लिएर असन्तुष्ट बढ्दै गएको छ। यसले समेत पार्टी एकतालाई पछाडि धकेल्ने संकेत देखिएको छ। 

‘पार्टी एकताका विषयमा छलफल गर्न अध्यक्ष निवासमा पुगेका हौँ, हामीले अध्यक्षज्यूलाई पार्टी एकता गर्दा नयाँ बन्ने एकीकृत पार्टीमा समान हैसियत र जनयुद्धको सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै ध्यानाकृष्ट गरेका छौँ,’ वाइसीएलका अध्यक्ष दीपशिखाले भने, ‘उहाँले पार्टीका आम कार्यकर्ताहरुको माग यही रहेकोले पार्टी एकता हुँदा यसलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ।’ 

छलफलमा सहभागी अर्का नेताले अध्यक्ष प्रचण्डले समान हैसियत नभए पार्टी एकता नै नहुने बताएको जानकारी दिए। ‘जनयुद्धको विषयमा विवाद नभए पनि समान हैसियतको विषयमा दुई दलबीचको छलफल अगाडि बढिरहेको भन्दै उहाँले समान हैसियत नपाए पार्टी एकता नहुने स्पष्ट पार्नुभयो,’ ती नेताले भने। 

पार्टी एकता हुँदै गर्दा माओवादीका दोस्रो तहका नेताहरुले आफ्नो हैसियत के हुने भन्ने विषयमा अध्यक्ष प्रचण्डसँग दबाब दिइरहेका छन्। ‘हामीले पार्टी एकता नगर्ने भनेका छैनौँ, एकता गर्नुपर्छ तर एकतापछि बन्ने पार्टीमा हाम्रो हैसियत के हुने भन्ने प्रश्न हो,’ माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्यले पहिलोपोस्टसँग भने, ‘यस विषयमा टुंगो लागेपछि मात्र पार्टी एकता गर्नुपर्छ भनेर हामीले नेतृत्वसमक्ष कुरा राखेका छौँ।’ 

हाल माओवादी केन्द्रमा केन्द्रीय कमिटी सदस्यको संख्या करिब ५ हजारको हाराहारीमा छ। पोलिटव्यूरो सदस्य नै ३ सयभन्दा माथि छन्। यी नेताको व्यवस्थापन पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि ठूलो चुनौती देखिएको छ। 

एमाले भने पार्टी एकता जनमतको निर्णय अनुसार हुनुपर्ने बताउँदै आएको छ। निर्वाचन अगाडि ६०/४० को भागबण्डा भएको थियो। पार्टी एकतामा माओवादीले केन्द्रीय कमिटीदेखि प्रारम्भिक कमिटीसम्म ५०/५० माग्दै आएको छ। एमालेले यसलाई अस्वीकार गरेको छ। 

यस विषयमा कुनै पनि बैठकमा कुरा नउठेको एमाले नेताहरुले दाबी गर्दै आएका छन्। शनिबार मात्र एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिप्टी/फिप्टीको विषयमा कुनै पनि सहमति नभएको बताएका थिए। 

‘५०–५० प्रतिशत भन्ने सहमति भएको छैन। समानताको आधारमा पार्टी एकीकरण,’ शनिबार विराटनगर पुगेका उनले त्यहाँ पत्रकारहरुसँग भनेका थिए, ‘वैसाख ९ या १८ मा, अब पार्टी एकीकरण हुन्छ, एकतालाई कसैले रोक्न सक्दैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell