काठमाडौं : चैत २३ गते बिहान साढे ९ बजे हातखुट्टा बाँधेको युवतीको शव टोखाको एक गेष्ट हाउसमा फेला पर्यो। घटनाको प्रकृतिले युवतीको हत्या भएको पुष्टि गर्ने प्रहरीलाई समय लागेन। तर, हत्या कसले र किन गर्यो भन्ने प्रश्नको उत्तर प्रहरीसँग थिएन।
घटनाको १० दिनपछि २२ वर्षीय गोपाल शर्मा पक्राउ परे। यसपछि हत्याको एउटा गुत्थी सुल्टिएको छ। महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले हत्यापछि फरार शर्मालाई कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। हत्या गर्ने समातिए पनि मृतक युवती को हुन् अझै खुल्न सकेको छैन।
किन र कसरी भयो हत्या?
चैत २२ गते गोपाल शर्मा रामेछापबाट काठमाडौँका लागि निस्किए। सल्यान घर भए पनि कामको सिलसिलामा उनी केही समयदेखि रामेछापमा बस्दै आएका थिए। सामान्य भेटघाटका लागि उनी काठमाडौँ आएका थिए।काठमाडौंमा उत्रिँदा साँझ झमक्क भइसकेको थियो। उनी बसबाट ओर्लिएर सिधै माछापोखरीतिर लागे। कक्षा सातपछि पढाई छाडेर मिस्त्रीको काम गर्दै आएका गोपालको भेट २३ वर्षीय युवतीसँग भयो त्यही साँझ।
तिनै युवतीसँग केही समय गफमा बिताए उनले। भेटेको पहिलो दिनमै उनीहरूको चिनजान यतिकै टुङ्गिएन। दुवैबीच रात सँगै बिताउने सहमति समेत बन्यो। दुई हजार रुपैयाँमा युवतीको गोपालसँग डिल भयो। गोपाल र युवतीबीचको यो सहमति हुनुअघि एकछिन 'बार्गेनिङ'समेत चल्यो। अन्तत: युवतीको डिमान्ड अनुसार नै रकम दिन गोपाल तयार भए।
दुई हजार रुपैयाँ हातमै राखिदिएपछि युवती तयारमात्र भइनन्, होटलको प्रबन्धसमेत गरिन्। आफूले चिनेको होटेल भन्दै गोपाललाई टोखामा रहेको न्यू भुमेश्वरी एण्ड अर्जुन पाहुना घरमा पुर्याकइन् उनले। उनीहरू होटेल पुग्दा रातको आठ बजिसकेको थियो। उनीहरुले होटेलको पहिलो तलामा रहेको कोठा नम्बर २०३ बुक गरे।
केही समयपछि उनीहरू रक्सी पिउने मुडमा पुगे। युवतीले 'भर्जिन' मगाइन्। गोपालले भने बियर। दुवै जनालाई रक्सीको नशामा डुब्दै गए। गोपालभन्दा युवती बढी नशाले प्रभावित भइन्। गोपालले त्यही क्रममा 'सम्बन्ध' राख्न खोजे। तर, युवती एकाएक आक्रोशित भइन्। केही क्षणअघिको 'डिल' यतिखेर भत्किसकेको थियो। नशाकै सुरमा युवतीले गाली गर्ने थालिन्। नशामै रहेका गोपाललाई रिस उठ्यो। त्यही नशाकै झोकमा युवतीको घाँटीमा थिचेर हत्या गरे।
युवती मरिसके पनि गोपालको रीस भने मरेको थिएन। कोटमा भएको डोरीले युवतीको हातखुट्टा बाँधैर लडाए। राति नै गोपाल होटेल छाडेर भागे।
हत्या गरेको राति गोपाल बालाजु गंगा सिनेमा हलको अगाडि सडकमै सुते। भोलिपल्ट दिनभरि रत्नपार्क घुमे। र, ४ बजे नेपालगञ्ज जाने गाडी चढे।
महानगरीय प्रहरी परिसर काठमाडौँले कञ्चनपुरबाट शुक्रबार शर्मालाई समात्यो। काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ।
(घटनाको विवरण अभियुक्तले दिएको बयानमा आधारित हो।)