PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

मेलामा बिच्केको हात्तीले लियो चार दिनमा तीन जनाको ज्यान



राधेश्याम पटेल

मेलामा बिच्केको हात्तीले लियो चार दिनमा तीन जनाको ज्यान

वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जको रामभौरी भाठा क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी चार दिनमा तीन जनाको मृत्यु भएको छ। गत बिहीवार एक जनाको मृत्यु भएको थियो भने आज थप दुई जनाको शव फेला परेको छ। हात्तीको आक्रमणमा परी एक जना घाइते भएका छन्।

आज भेटिकको शव ठोरी– ४ सिमरा टोलका ३९ वर्षीय सागबहादुर दोङ र मकवानपुर मनहरी चकरीमकरीका मनमोहन ढकालको हो। दुवैको शनिबार मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ। उनीहरुको मृत्यु भएको जानकारी निकुञ्जले आजैमात्र थाहा पाएको हो। भाठामा लागेको मेला भर्न साथीसँग ठोरीका दोङ मोटरसाइकलबाट आएका थिए। सागबहादुरलाई हात्तीले मोटरसाइकलबाटै सुँडले थुतेर आक्रमण गरेको थियो। उनका साथी चालक निलबहादुरलाई पनि हात्तीले आक्रमण गरेको थियो। उनी सामान्य घाइते छन्। 

शुक्रबार जोगी कमलेश गिरीको हात्तीकै आक्रमणले ज्यान गएको थियो। हात्तीको आक्रमणमा मारिएका ढकाल र उनीसँगै रहेका अर्का व्यक्तिलाई हात्तीले आक्रमण गरेको थियो। दुवै मोटरसाइकलमा थिए। ढकाललाई हात्तीले आक्रमण गर्न थालेपछि मोटरसाइकल चालक रुख चढेर ज्यान जोगाउन सफल भए। उनैले दिएको सूचनाको आधारमा सर्च गर्दा आइतबार बिहान ढकालको शव फेला परेको हो। 

मेला र धार्मिक आस्थाको नाममा जर्बजस्ती निकुञ्जमा प्रवेश गर्ने क्रम नरोकिएपछि हिंसक बनेको हात्ती जो कोही अघिपर्दा पनि आक्रमक हुने प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। जोगी कमलेश गिरीको ज्यान लिनुअघि उक्त हात्तीलाई बिहिवार मेलामा व्यापार गर्न गएका व्यापारीहरुले ट्याक्टरको ठूलो आवाज निकालेर तर्साएका थिए। 

हात्ती भगाउन खोजेपछि आक्रामक बनेको उनले बताए। हात्तीले जोगीको ज्यान लिएपछि निकुञ्ज प्रशासनले मेला समितिले भाठामा शनिबार लगाउन खोजेको मेला रोक्ने प्रयास गरेको थियो। मेला आयोजक समितिको असहयोग र धार्मिक आस्थाका नाममा निकुञ्ज प्रवेश गर्न खोज्ने हजारौ सर्वसाधारणलाई रोक्न नसकिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell