
काठमाडौं : बसुन्धारामा युवतीको हत्या भएको २४ घन्टा नबित्दै प्रहरीले हत्यामा संलग्न युवक पक्रेको छ। समातिएका विजय तामाङले ढुंगा प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन्। 'रक्सी खाएर फर्किँदा कोठामा जान नमानेपछि ढुंगाले हानेको हुँ,' अभियुक्त तामाङले बयानमा भनेका छन्, 'रिसको आवेगमा हानेको थिएँ।'
सात महिनादेखि विजय तामाङ र ती युवती सँगै बस्दै आएका थिए। केही समय यता युवती अरुसँगै लाग्न थालेको तामाङले बयानका क्रममा बताएका छन्। यी दुईबीच हिजो साँझ भेट भयो र उनीहरुले सँगै मदिरा पनि खाए। रक्सी पिएर फर्कने क्रममा सँगै बस्दै आएको कोठामा जान युवतीले अस्वीकार गरिन्। यही विषयलाई लिएर दुवै जना झगडामा उत्रिए। रक्सीको नसामा तामाङले ढुंगाले प्रहार गरे।
ढुंगा प्रहारपछि तामाङ अन्य दिन झै कोठामा पुगे। खान पकाएर खाए अनि सुते। आज बिहान प्रहरीले उनलाई कोठाबाटै समात्यो। रगत लतपतिएको लुगासमेत उनको कोठामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
आइतबार राति करिब १० बजे बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या भएको थियो। मृतकको टाउकोमा हिर्काइएको डोब थियो।