काठमाडौं : नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करबाट अवैध लागूऔषध गाँजाको तस्करी हुने गरेको खुलेको छ।
लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले ना ४ ख ५३६८ नम्बरको ट्याङ्करमा १ सय ६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ट्याङ्कर चालक सोमबहादुर थोकर र लागूऔषध कारोबारी इमानसिंह स्याङबो रहेको व्युरोका प्रमुख डिआइजी ठूले राईले बताए।
मकवानपुरको कैलाश गाँउपालिकाबाट ल्याएको १६० केजी गाँजा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित झ्याप्ले खोलामा लोड गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो।
ट्याङ्कर काठमाडौंमा इन्धन खन्याएर रक्सौल जाँदै थियो। तस्करहरुले ट्याङ्करको अगाडिको भागमा गाँजा लुकाएर भारत लैजान लागेका थिए। उनीहरुले केही समयदेखि ट्याङकर प्रयोग गरेर गाँजाको कारोबार गर्ने गरेको डिआइजी राईले बताए। 'उनीहरुले बयानमा पटक-पटक यसरी नै गाँजा भारत लैजाने गरेको बताएका छन्। हामी यसबारेमा अनुसन्धान गरिरहेका छौं,' राईले भने।
इन्धन ट्याङ्करमा प्रहरीले कम चेक गर्ने र कसैलै शंका नगर्ने भएकाले कारोबारीले इन्धनको ट्याङ्कर प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
'ट्याङ्कहरुको विषयमा हामी थप अनुसन्धान गर्छौं। यसमा जो कोहीको संलग्नता देखिए पनि कारबाही हुन्छ,' डिआइजी राईले भने।
नेपालमा किलोको ४ हजारदेखि ५ हजार रुपैयाँसम्म गाँजाको चिप्पर किनेर भारतमा भारु ५ देखि ८ हजारसम्ममा बिक्री हुने गरेको छ। मकवानपुर, धादिङ लगायत जिल्लामा लुकिछिपी गाँजाको खेती हुने गरेको छ। पक्राउ परेका दुवै जना लामो समयदेखि लागूऔषधको कारोबारमा सक्रिय रहँदै आएको पाइएको छ।