PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चीन भ्रमणमा परराष्ट्रमन्त्रीका पाँच एजेण्डा



विधुर ढकाल

चीन भ्रमणमा परराष्ट्रमन्त्रीका पाँच एजेण्डा
फाइल फोटो

काठमाडौँ : सोमबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उत्तरी छिमेकी चीन प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले चीनमा रहँदा उच्चस्तरीय राजनेतासँग भेट गर्ने बताएका छन्। यद्यपि, ती राजनेता को हुन् भन्ने खुलाएनन्। 

‘बेइजिङ बसाईका समयमा त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको छ,’ उनले भने, ‘यसको विस्तृत जानकारी तय हुनासाथ परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने छ।’
 

एजेन्डा १ : उच्चस्तरीय भ्रमणको आदानप्रदान

परराष्ट्रमन्त्री ज्ञवालीको ६ दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा छलफल हुने छ। बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री ओली चीन जाने चर्चा चले पनि उनी त्यहाँ सहभागी भएनन्। प्रधानमन्त्री ओली यसबीच भारतको तीन दिने राजकीय भ्रमणमा गएर फर्किएका छन्। 

यो भ्रमण प्रधानमन्त्री ‌ओलीको चीन भ्रमणसँगै चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको विषयमा समेत छलफल हुने छ। 
परराष्ट्रमन्त्री ज्ञवालीले चीन भ्रमणका क्रममा उच्चस्तरीय भ्रमणको आदान प्रदानको विषयमा छलफल हुने जानकारी दिए। यो भ्रमण उत्तरी छिमेकी चीनमा वाम गठबन्धनको सरकार बनेपछि हुन लागेको पहिलो उच्चस्तरी भ्रमण हो। 

भ्रमणमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको विषयमा समेत छलफल हुने उनले जानकारी गराए। 

‘मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नै तपाईँहरुमाझ भनेको छु कि २०१८ लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा हामीले लिएका छौँ,’ उनले अगाडि भने, ‘स्वभाविक रुपमा भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा छलफल हुने छ।’ 

उनले योसँगै दुवै देशबाट निरन्तर रुपमा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयमा छलफल हुने बताए। 

एजेन्डा २ : पुराना सम्झौताको कार्यान्वयन

यसैबीच यसअघि दुई देशबीच भएका सन्धी सम्झौताको कार्यान्वयनका विषयमा चिनियाँ पक्षसँग छलफल हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए। बुधवार बेइजिङमा चिनियाँ विदेशमन्त्री नेतृत्वको टोलीसँग परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलबीच द्वीपक्षीय भेटवार्ता हुँदैछ। भेटवार्तामा चीनसँग यसअघि भएका सहमति, सम्झौता र सहयोगका बारेमा बृहद छलफल गर्ने उनले जानकारी दिए। 

सन् २०१६ मा प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको व्यापार तथा पारवहान सन्धीको प्रोटोकलमा हस्ताक्षर गर्ने विषयमा समेत छलफल हुने छ। 

पारवहान सन्धीको प्रोटोकलको मस्यौदा नेपाली पक्षले गत अगस्टमा चिनियाँ पक्षलाई बुझाएको छ। चिनियाँ पक्षले सो मस्यौदा अध्ययन गरिरहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रोटोकललाई अन्तिम रुप दिने विषयमा समेत छलफल हुने उनले जानकारी दिए। 

एजेन्डा ३ : बिआरआई अन्तर्गत लगानीको मोडालिटी

यसैबीच नेपाल चीनले अगाडि सारेको महत्त्वकांक्षी परियोजना बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा परियोजना छनोटको काम भइरहेको उनले जानकारी दिए। ‘पूर्ववर्ती सरकारले बीआरआईमा हस्ताक्षर गरिसकेको छ। सोही अनुसार सरोकारवाला मन्त्रालयलाई परियोजना छनोटको काम भइरहेको छ,’ उनले भने, ‘परियोजना अन्तर्गत नेपालमा लगानीको मोडालिटीको बारेमा समेत छलफल भइरहेको छ। यस विषयमा पनि म चिनियाँ पक्षसँग राख्ने छु।’ 

उनले अन्तरदेशीय ट्रान्समिसन लाइनको विस्तार, रेलमार्ग र सडकमार्गको विषयमा समेत छलफल गर्ने बताए। नेपालले चिलिमे–रसुवागढी–केरुङ र कोराला अन्तरदेशीय प्रशारण लाइन निमार्णका विषयमा समेत छलफल हुने उनले बताए। 

एजेन्डा ४ : नाका खोल्ने विषय

यसैबीच भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनका विषयमा समेत छलफल हुने उनले बताए। नाका बन्द भएपछि आएका अघिल्ला तीन परराष्ट्रमन्त्रीले देखाएको जस्तै विस्वास यस पटक परराष्ट्रमन्त्री ज्ञवालीले पनि देखाएका छन्। 

‘तातोपानी नाका दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको इतिहास बोकेको छ,’ उनले भने, ‘नेपाल सरकारले यसलाई सञ्चालनका लागि चिनियाँ पक्षसँग छलफल गरिरहेको छ। छिट्टै खुल्छ भन्नेमा म विस्वस्त छु।’ 

२०७२ मा गएको विनासकारी भूकम्पले क्षति पुर्याएपछि बन्द रहेको तातोपानी नाका सञ्चालनको विषयमा यसअघिका परराष्ट्रमन्त्रीहरु कमल थापा, प्रकाशशरण महत र कृष्णबहादुर महराले पनि चीन भ्रमण अगाडि यस्तै विश्वास देखाउँदै आएका थिए। यसबीच पटक पटक चिनियाँ पक्षसँग छलफल भएको बताइए पनि कुनै प्रगति भने देखिएको छैन्। 

परराष्ट्रमन्त्री ज्ञवालीले पनि उस्तै विश्वास देखाए पनि ठोस मिति र नाका सञ्चालनको ठोस योजना भने बताएनन्। ‘भूकम्पले जमिन थिलोथिलो भएका कारण संरचना निमार्णमा कठिनाइ भएका कारण लम्बिएको हो, यसबीच केही प्रगति भएको छ, छिट्टै खुल्छ,’ उनले भने।  यस विषयमा समेत छलफल हुने उनले बताए। 

एजेन्डा ५ : नेपालको प्राथमिकता चिनियाँ नेतृत्वलाई बुझाउने प्रयास

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले चीन भ्रमणका क्रममा चिनियाँ सरकारी पक्षलाई नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी गराउने बताएका छन्। नेपालको बदलिएको राजनीतिक अवस्था, संविधान कार्यान्वन, संघीयताको प्रयोगका विषयमा चिनियाँ पक्षलाई जानकारी गराइने उनले बताए। 

‘यो भ्रमण ऐतिहासिक समयमा हुँदै छ, नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको छ। हामी संघीयता कार्यान्वयनका दिशामा छौँ। तीनै तहका निर्वाचन सम्पन्न भएका छन्,’ उनले अगाडि भने, ‘स्थानीय, प्रदेश तथा संघीय इकाइमा शक्तिशाली सरकार बनेका छन्। यो अवस्थामा हाम्रो परराष्ट्र नीति, हाम्रा प्राथमिकताका विषयमा चिनियाँ नेताहरुलाई जानकारी गराउने छु।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell