PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमाले–माओवादी एकतामा बाधा : यी हुन् ‘फाइनल टच’ हुन बाँकी विषय



विधुर ढकाल

एमाले–माओवादी एकतामा बाधा : यी हुन् ‘फाइनल टच’ हुन बाँकी विषय

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकता टरेको छ। मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा ‘विवादित’ विषयहरुलाई टुंगो लगाउन नसक्दा पार्टी एकता ९ गतेलाई टरेको हो। 

मंगलबार बसेको बैठकपछि सञ्चारकर्मीमाझ एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई पार्टीबीच एकताका विषयमा कुनै पनि विवादित विषय नभएको दाबी गरे। तर, पनि एकता ९ गते हुन नसक्ने स्पष्ट संकेत दिए। 

उनकै शब्दमा भन्ने हो भने पनि पार्टी एकताका लागि ‘केही विषयहरु’मा फाइनल टच दिन बाँकी छ। दुई पार्टीबीच एकताका लागि गठन भएका दुई कार्यदलले बुझाएका मस्यौदामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ गते पार्टी एकता गर्न सुझाब दिएका थिए। 

कार्यदलले बुझाएका प्रतिवेदनमा विवादित भनिएका विषयहरु ‘जनयुद्ध’, चुनाब चिन्ह र ‘फिप्टी-फिप्टी’ले एकता प्रक्रियालाई लम्बाउँदै लगेको हो। दुई दलले यस विषयमा आफ्ना आफ्नै अडान राख्दै आएका छन्। 

माओवादीले राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान प्रस्तावनामा ‘जनयुद्ध’ सामावेश गर्नुपर्ने अडान राख्दै आएको छ। त्यस्तै चुनाव चिन्हमा ‘हसिया हतौडा’लाई समेत समावेश गर्नुपर्ने अडान राख्दै आएको छ। 

सोमबारमात्र माओवादी निकट युवाहरुले अध्यक्ष प्रचण्डलाई भेट गरी ‘जनयुद्ध’ पार्टीको प्रतिवेदन तथा विधानको प्रस्तावमा समावेश गर्नुपर्ने दबाब दिएका थिए।
 
सबैभन्दा पेचिलो ‘विवाद’ एमाले महासचिव पोखरेलको शब्दमा ‘फाइनल टच’ दिन बाँकी विषय भनेको ‘फिप्टी–फिप्टी’ हो। माओवादी केन्द्रले पार्टी एकता समानताका आधारमा हुनुपर्ने बताउँदै आएको छ। 

अध्यक्ष प्रचण्डलाई पार्टी भित्रैबाट पनि यस विषयमा दबाब परिरहेको छ। पार्टीका दोस्रो तहका नेताहरु एकता पछि आफ्नो स्थान कहाँ भन्ने विषय प्रचण्डसँग पुर्यााइरहेका छन्। प्रचण्ड आफै पनि पार्टी एकता पछि पार्टीको शक्तिशाली अध्यक्ष बन्न चाहन्छन्।
 
पार्टी एकतापछि हुने पहिलो महाधिवेशनपछि सहमतिमा शक्तिशाली अध्यक्ष हुन चाहन्छन् प्रचण्ड। तर, प्रचण्ड सहमतिमा अध्यक्ष हुने बाटो जटिल बन्दै गए पछि एकता पनि टाढिएको विश्लेषण गरिएको छ।
 
माओवादी नेतृत्वले पार्टी एकता ‘सम्मानजनक’ हुनुपर्ने बताउँदै आएका छ। ‘एकता हुँदा सम्मानजनक हुनुपर्छ,’ माओवादी केन्द्रका एक कार्यालय सदस्यले भने, ‘यो संख्या पनि हो। एमालेसँग एकता हुने हो माओवादी एमालेमा विलय हुने होइन। सम्मानजनक सहभागिता नभए एकता हुन सक्दैन।’ 

एमाले नेताहरु भने एकता संख्यामा नभइ विचारमा हुनुपर्ने भन्दै फिप्टी–फिप्टीलाई अस्वीकार गर्दै आएका छन्। ‘हामीले देशलाई समृद्धितर्फ लैजाने शक्तिशाली पार्टी बनाउने भनेका छौँ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘संख्याको विषय नै छैन्, पार्टी एकतामा योगदान र अनुभव र क्रियाशीलताका आधारमा हुने हो संख्याका आधारमा होइन।’

उनले जनयुद्धको विषय समेत विवाद नभएको उनले बताए। ‘हामीसँग हाम्रा आफ्नै धरातालहरु छन्। पार्टी एकता पछि त्यहाँ एमाले पनि रहने छैन, माओवादी पनि रहने छैन। हामी नयाँ पार्टी बनाउने भनेका हौँ,’ एकता संयोजन समितिका सदस्य समेत रहेका पोखरेलले भने।
 
दुई दलबीच एकताका लागि विवादित विषयहरु नेताहरुको शब्दमा ‘फाइनल टच’ दिन बाँकी विषयलाई टुंग्याउने जिम्मेवारी संयोजन समितिको बैठकले दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको छ।
 
तर, ‘फाइनल टच’ कहिले हुने भन्ने टुंगो भने लागेको छैन्। बुधवारदेखि देशव्यापी रुपमा सुरु हुने विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री ओली मधेश जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। त्यस्तै प्रचण्ड समेत सोही अभियानमा सहभागी हुँदैछन्। 
अन्य नेताहरु समेत यस अभियानमा सरिक हुने हुँदा दुई पार्टीका नेताहरुबीच छलफल तथा एकता संयोजन समितिको बैठक कहिले बस्छ भन्ने टुंगो लागेको छैन। यस्तोमा एकताका लागि गठित माधव नेपाल संयोजक रहेको कार्यदलले दिएको सुझाव अनुसार ९ वैसाखमा पार्टी एकता नहुने निचोडमा दुई दल पुगेका छन्। 

‘वैसाख ९ गते नै एकता गर्ने भन्ने निर्णय नै भएको थिएन्, कार्यदलबाट वैसाख ९ मा एकता गर्दा राम्रो हुन्छ भन्ने सुझाब आएको थियो,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘तर वैसाख ९ गते नै एकता गर्नका लागि गृहकार्य पुगेन। एकताका लागि थप गृहकार्य हुँदैछ। दुई अध्यक्षले टुंगिन बाँकी विषयलाई टुंग्याएर अर्को संयोजन समितिको बैठकमा पेश गर्नुहुन्छ। त्यही बैठकले एकता टुंग्याउने छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell