PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल : भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल : भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि

काठमाडौं : काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन्। उनले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि उचालेका हुन्।

हर्षाले ६ खेलमा जीत तथा तीन खेलमा बराबरी नतिजा निकाले। उपाधि सँगै हर्षले नगद दुई लाख पुरस्कार पाए।

सेतो गोटी लिएर हर्षाले क्वीन्स ईन्डिएन प्रणालीमा खेल सुरु गरेका थिए। बराबरी मात्र गरेर उपाधि हात पार्ने अभियानमा रहेका हर्षाले आक्रमक देखेका अजरको हरेक चाल बिफल बनाउँदै खेलको ४३औं चालमा अजरलाई बराबरीमा रोके।

अपराजित रहेका अजर मिर्जोभ पाँच खेलमा जित र चार खेलमा बराबरी खेलेर ७ अंक सहित उप विजेता भए। उनले १ लाख २० हजार पुरस्कार पाए।

समान ७ अंक भए पनि मिर्जोभसँग टाइब्रेकको आधारमा पछि पर्दै युक्रेनका २५४९ रेटेड ग्राण्डमास्टर तार्लेभ कन्स्टेन्टिन तेस्रो भए। उनले ८० हजार रुपैयाँ पुरस्कार पाए। उनले पनि अन्तिम खेलमा भारतका २४१३ रेटेड इन्टरनेशनल मास्टर हिमाल गोसाईंसँग बराबरी खेलेका थिए।

भारतका २२८५ रेटेड इन्टरनेशनल मास्टर पी श्यामनिखिल चौथो र इजरायलका २४९० रेटेड ग्राण्डमास्टर ग्रिनफिल्ड अलोन पाँचौं स्थानमा रहे। उनीहरुले क्रमसः ५० र ३० हजार रुपैयाँ पुरस्कार पाए।

भारतका इन्टरनेशनल मास्टर हिमाल गोसाईं छैटौं,  रुसका ग्राण्डमास्टर भोल्कोभ सर्गेइ सातौं, स्पेनका इन्टरनेशनल मास्टर भेगा मार्कोस आठौं, रुसका ग्राण्डमास्टर अलेक्जेन्डर फोमिनी नवौं र भारतका ग्राण्डमास्टर सन्दिपन चन्दा दशौं स्थानमा रहे।

त्यस्तै एघारौंदेखि १५ औं स्थानसम्म क्रमशः भारतका ग्राण्डमास्टर दीपसेन गुप्ता, इन्टरनेशनल मास्टर प्रिन्स बजाज, निलेस शाह, ग्राण्डमास्टर श्रीराम झा, अंकित गज्वा रहे।

 

नेपाली खेलाडी शीर्ष २० मा पर्न असफल

नेपाली खेलाडीहरुको लागि यो प्रतियोगिता मिश्रित रह्यो। नेपाली खेलाडीहरु २०औं स्थानसम्म भएको मुख्य पुरस्कार हात पार्न असफल भए।

नेपाली खेलाडीहरुमा नेपाल चेस संघको छात्रबृत्तिमा रुसमा अध्ययनरत रुपेश जयसवाल पहिलो भए। उनले १५ हजार रुपैयाँ पुरस्कार पाए। रुपेशले बेलारुसका ग्राण्ड मास्टर कास्भारोभ सर्गेइलाई बरबरीमा रोकेर ६ अंक प्राप्त गरे।

त्यस्तै नेपालका उच्च वरियताका २२६३ रेटेड खेलाडी विवेक थिङ दोस्रो स्थानमा रहे। विवेक स्पेनका अन्तर्राष्ट्रिय मास्टर भेगा मार्कोससँग पराजित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ तेस्रो स्थानमा रहे।

नेपालका बद्रीलाल नेपाली पचास वर्ष माथि उमेर समूहमा पनि तेस्रो स्थान हात पार्न सफल भए। अन्तिम चरणमा बद्री भारतका श्रीजीत पाउलसँग पराजित भएका थिए। उक्त समुहमा भारतका इन्टरनेशनल मास्टर अनुप देशमुख पहिलो र केभी शान्ताराम दोस्रो भए।

१८०० मुनि रेटेडमा मनिराज डाँगी तेस्रो भए भने बेस्ट अनरेटेडतर्फ नेपालका प्रणित अमात्य तेस्रोमा रहन सफल भए।

१८ बर्ष मुनि महिलातर्फ तेजश्वीनी तामाङ तेस्रो, १४ बर्ष मुनि महिलातर्फ मार्सल तामाङ पहिलो भइन्।

नेपाली महिलातर्फ कृपा अधिकारी ,शान्ति धिमाल र खुश्बु थापा प्रथम, दोस्रो र तेस्रो भए। उनीहरुले क्रमश पन्ध्र हवार, दस हजार र पाँच हजार पाए।

केएनपी जापानको मूख्य प्रायोजन तथा होमल्याण्ड स्पोर्टस क्लवको आयोजनामा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा पाँच दिनसम्म चलेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले पुरस्कृत गरे। चैत २९ देखि संचालन भएको प्रतियोगितामा १९ राष्ट्रका १८० खेलाडीको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell