PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रनवेबाट मालिन्दोको विमान चिप्लिँदा हिजो रातिदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द, आन्तरिकको उडान भने बिहानदेखि सुरु



वसन्तराज उप्रेती

रनवेबाट मालिन्दोको विमान चिप्लिँदा हिजो रातिदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द, आन्तरिकको उडान भने बिहानदेखि सुरु

काठमाडौँः मालिन्दो एयरको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मालिन्दो एयरको जहाज दुर्घटनाका कारण अहिलेसम्म पनि विमानस्थल खुल्न नसकेको बताए।

‘मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा गएर भासिएपछि अहिलेसम्म पनि विमानस्थल खुल्न सकेको छैन’उनले भने, प्राविधिक टोलीले जहाज मर्मत लगायतको काम गर्दैछ। विमानस्थल खुल्ने बारेमा अहिले नै भन्न सकिन्न।‘

आन्तरिक उडान भने बिहानबाट सुरु भएको छ। बिहान सबेरैका उडान रद्द भएका कारण आन्तरिक विमानस्थलतर्फ पनि चाप बढेको छ। 

मालिन्दोको बोइङ ७३७-९०० विमान राति १० बजे क्वालालम्पुरतिर उड्नका लागि रनवे २० बाट टेकअफ गर्ने क्रममा रनवे छाडेर करिब १३५ फिट तल गएर भासिएको थियो। जहाज भासिएपछि सबै यात्रुलार्इ दायाँ साइडको पछाडिको आपतकालीन स्लाइडबाट बाहिर निकालिएको थियो। विमानमा करिब १३० यात्रु थिए। 

हिजो रातिदेखि नै विमानलाई निकाल्न प्राविधिकहरुले प्रयास गरिरहेका छन्। अहिले प्रहरी र सेनाको सहयोगमा विमानलाई तानेर अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ल्याउने तयारी भइरहेको छ। 

रनवे ०२ मा यो विमानको अवरोधका कारण अन्तर्राष्ट्रिय उडान सम्भव भएको छैन। आन्तरिक उडानलाई धेरै स्थान नचाहिने भएकोले रनवे २० बाट आन्तरिक उडान सुरु भइसकेको छ। अन्तर्राष्ट्रिय उडान मध्याह्न १२ बजेदेखि गर्ने प्रयास भइरहेको छ।  


यसअघि मार्च २०१५ मा टर्किस एयरलाइन्सको विमान यही विमानस्थलमा रनवेबाट चिप्लिएर रनवेलाई अवरुद्ध बनाएपछि चार दिनसम्म अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका थिए। भारत र टर्कीबाट उपकरण ल्याएर विमान छेउ लगाउनु परेको थियो। हाल यो विमान सिनामंगलमा संग्रहालय बनाएर राखिएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell