PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अपडेट : घाँसे मैदानमा भासिएको मालिन्दोको विमान तानेर रनवे पुर्‍याइयो, केही समयमा उडान सुचारु

अपडेट : घाँसे मैदानमा भासिएको मालिन्दोको विमान तानेर रनवे पुर्‍याइयो, केही समयमा उडान सुचारु

वसन्तराज उप्रेती/पहिलोपोस्ट


काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ को करिब ४० मिटरमा रहेको घाँसे मैदानमा चक्का भासिएको अवस्थामा रहेको मालिन्दो एयरको विमानलाई शुक्रबार बिहान तानेर रनवेमा पुर्‍याइएको छ।

नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तानेका थिए।

जहाज रनवेबाट चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टादेखि बन्द छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हिजो रातिदेखि नै विमानलाई रनवे अवरुद्ध नहुने गरी निकालेर पार्किङ स्थलमा राख्ने प्रयास जारी थियो। 

ठाकुरका अनुसार पाइलटले टेकअफ गर्न लाग्दा प्राविधिक समस्या आएको थाहा पाएपछि बोइङ ७३७-९०० विमान रोक्ने प्रयास गरेका थिए। तर जहाजले गति लिइसकेको हुँदा रनवेबाट बाहिर गएर भासिन पुग्यो। 

विमानलाई अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियातर्फ तानेर राखेपछि अन्तर्राष्ट्रिय उडान सुचारु हुनेछ। आन्तरिक उडान भने बिहान सुरु भइसकेको थियो। 

हिजो राति विमान तान्ने प्रयास असफल भएको थियो। 'नेपाल वायुसेवा निगमको दुई वटा पुस ब्याक भेहिकलले फलामको डोरी प्रयोग गरी तान्ने प्रयास गरेका थियौँ ', बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ठाकुरले भनेका थिए, 'राति दुई फिट तान्दा डोरी नै चुँडियो। त्यसपछि आज बिहान ८ बजे नेपाली सेनाले डोरी ल्याएर तान्ने काम थालनी भएको छ।'

तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थलको रनवे अवरुद्ध हुने गरी दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान हटाउन १३ भारतीय सैनिकसहित एयरक्राफ्ट रिमुभल किट बोकेर आउनु परेको थियो। त्यतिबेला विमानस्थल चार दिन बन्द गर्नुपरेको थियो। 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, 'विमानलाई गाडी जस्तो तान्न मिल्दैन, सकुशल निकाल्नुपर्ने हुनाले अलिक समय लाग्छ।' 

उनका अनुसार ककपिटमा डिस्प्ले राम्रोसँग नदेखिएको कारण पाइलटले जहाज रोकेका थिए। 

रनवे अवरुद्ध भएका कारण हिजो राति काठमाडौँ अवतरण गर्नुपर्ने ओमान एयरको विमान कोलकाता, फ्लाइ दुबईको दिल्ली, चाइना सदर्नको कोलकाता र मलेसियन एयरको विमान ढाका डाइभर्ट गरिएको थियो। बिहानका अन्तर्राष्ट्रिय उडान रोकिएका छन्। 
घाँसे मैदानमा भासिएको अवस्थामा मालिन्दोको विमान
घाँसे मैदानमा भासिएको अवस्थामा मालिन्दोको विमान


ट्रेन्डिङ पोस्ट

Ncell