PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, आज रातभर विमानस्थल बन्द नहुने



वसन्तराज उप्रेती

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, आज रातभर विमानस्थल बन्द नहुने

काठमाडौँ : मालिन्दो एयरको विमान रनवेभन्दा बाहिर गएर भासिएपछि बिहीबार रातिदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार साढे ११ बजेदेखि पूर्ववत सञ्चालनमा आएको छ। 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको माग भए आज रातभर विमानस्थल सञ्चालन हुनेछ। 'हामी २४ सै घण्टा विमानस्थल सञ्चालन गर्न तयार छौँ', उनले भने, 'यसका लागि विमानस्थललाई तयार बनाइसकिएको छ।'

भासिएको विमानलाई शुक्रबार बिहान करिब साढे १० बजे तानेर पार्किङ एरियामा पुर्‍याइएको थियो। 

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटनाग्रस्त जहाजलार्इ विमानस्थलको पूर्वतर्फको बुद्ध एयरको ह्याङ्कर नजिकै राखेपछि अन्तर्राष्ट्रिय उडान सुरु गरिएको बताए।

विमानस्थल सुचारु भएपछि चाइना सदर्न एयरलाइन्सको विमान काठमाडौँ अवतरण गर्ने पहिलो हुँदैछ। यो विमान हिजो विमानस्थल बन्द भएपछि कोलकाता डाइभर्ट भएर उतै रात बिताएको थियो। 

हिजो राति काठमाडौँ अवतरण गर्नुपर्ने ओमान एयरको विमान कोलकाता, फ्लाइ दुबईको दिल्ली र मलेसियन एयरको विमान ढाका डाइभर्ट गरिएको थियो।  

काठमाडौँ विमानस्थलमा पनि यात्रुहरुको बोर्डिङ सुरु भइसकेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell