PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मालिन्दो पन्छाएपछि, एयरपोर्ट पूरै खुल्यो



वसन्तराज उप्रेती

मालिन्दो पन्छाएपछि, एयरपोर्ट पूरै खुल्यो

काठमाडौं : मालिन्दो एयरको जहाज दुर्घटनापछि बन्द भएको विमानस्थल १४ घण्टापछि खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ को करिब ४० मिटरमा रहेको घाँसे मैदानमा चक्का भासिएको थियो। भासिएको मालिन्दोको विमानलाई शुक्रबार बिहान तानेर सुरक्षित स्थान पुर्याइएपछि अन्तर्राष्ट्रिय उडान सुचारु भएको हो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटनाग्रस्त जहाजलार्इ विमानस्थलको पूर्वतर्फको बुद्ध एयरको ह्याङ्कर नजिकै राखेपछि अन्तर्राष्ट्रिय उडान सुरु गरिएको बताए।

उनका अनुसार कोलकाताबाट चाइना साउर्थनको जहाज काठमाडौंतर्फ आउँदैछ। यो जहाज विमानस्थल बन्द भएपछि कोलकात्ता डाइभर्ट गरिएको थियो। नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा डोजर, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तानेका थिए।

जहाज रनवेबाट चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १४ घण्टा बन्द भयो। ठाकुरका अनुसार पाइलटले टेकअफ गर्न लाग्दा प्राविधिक समस्या आएको थाहा पाएपछि बोइङ ७३७-९०० विमान रोक्ने प्रयास गरेका थिए। तर, जहाजले गति लिइसकेको हुँदा रनवेबाट बाहिर गएर भासिन पुग्यो।

आन्तरिक उडान भने बिहान सुरु भइसकेको थियो।

हिजो राति विमान तान्ने प्रयास असफल भएको थियो। 'नेपाल वायुसेवा निगमको दुई वटा पुस ब्याक भेहिकलले फलामको डोरी प्रयोग गरी तान्ने प्रयास गरेका थियौँ', बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ठाकुरले भनेका थिए, 'राति दुई फिट तान्दा डोरी नै चुँडियो। त्यसपछि आज बिहान ८ बजे नेपाली सेनाले डोरी ल्याएर तान्ने काम थालनी भएको छ।'

तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थलको रनवे अवरुद्ध हुने गरी दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान हटाउन १३ भारतीय सैनिकसहित एयरक्राफ्ट रिमुभल किट बोकेर आउनु परेको थियो। त्यतिबेला विमानस्थल चार दिन बन्द गर्नुपरेको थियो।

रनवे अवरुद्ध भएका कारण हिजो राति काठमाडौँ अवतरण गर्नुपर्ने ओमान एयरको विमान कोलकाता, फ्लाइ दुबईको दिल्ली, चाइना सदर्नको कोलकाता र मलेसियन एयरको विमान ढाका डाइभर्ट गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell