
काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले युवाहरूको पसिना र श्रमले अरबको मरुभूमिमा समृद्धिले उचाइ लिएको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण नभए नेपालको समृद्धि र विकासमा युवाहरूलाई लगाउने वातावरण तयार नहुने पनि दाबी गरे।
गोधुली साहित्यिक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले भने, ‘जसरी नेपाली युवाहरूको पसिना र श्रम अरबको मरुभूमिमा सिञ्चित भइरहेको छ। त्यसरी नै त्यहाँको समृद्धिले उचाइ लिइरहेको छ। यसरी विदेशमा सिञ्चित हुने युवाहरूको पसिना र श्रमलाई नेपालमा सिञ्चित गर्न सके यहाँको समृद्धिले पनि उचाइ लिने छ।’
नेपालको न्यायिक क्षेत्र समेत भ्रष्टाचारबाट टाढा नरहेको उनको भनाइ थियो। ‘नेपालमा न्यायिक क्षेत्रमा अरबौको भष्टाचार छ, प्रशासन क्षेत्रका कर्मचारीहरू राजनीतिक क्षेत्रका व्यक्तिहरू भ्रष्टाचारमा फसिरहेका छन्,’ उनले भने, ‘यसरी भइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सके मात्र युवाहरूलाई देश विकास र समृद्धि लगाउने वातावरण तयार हुन्छ।’
सार्वाजनिक पद धारण गरेका व्यक्तिहरूको व्यस्तता र दौडधुप हेर्दा केही परिवर्तन भइरहेको छ कि भन्ने जनतामा अनुभूति भए पनि परिणाम हेर्दा निराशा बढ्दै गएको उनले बताए।
देश विकास र समृद्धि सरकारको प्राथमिकता रहेको मन्त्री तामाङको भनाई थियो।
‘विगतमा परिवर्तनका लागि धेरै लडाई लडेका हौंला,’ उनले भने, ‘अब पनि संक्रमणकाल छ। केही कुराहरू मिलाउन बाँकी छन् भन्दै उम्किने ठाउँ छैन। देश विकास र समृद्धिको लागि यो सरकारलाई जनताले जिमेवारी दिएको हो। यो जिम्मेवारी पुरा गर्न यो सरकार लागिरहेको छ।’