PahiloPost

Nov 5, 2024 | २० कात्तिक २०८१

काशीको ललिता घाटमा नेपाली वृद्धवृद्धाको आर्तनाद : भगवान्, अहिलै नै लैजाऊ



अनन्तराज न्यौपाने

काशीको ललिता घाटमा नेपाली वृद्धवृद्धाको आर्तनाद : भगवान्, अहिलै नै लैजाऊ

‘मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन...’

जीवनको मर्मसित जोडिएको कला, साहित्य र संगीतसमेत कहिलेकाहीँ शाश्वत नहुँदो रहेछ। कृष्णहरि बराल र प्रभा आचार्यका जीवन्त शब्द, वसन्त सापकोटा र सुरेश गैरेको मनमोहक संगीत र स्वरूपराज आचार्यको सुमधुर स्वरमा रहेको यो गीत पनि भारतको वाराणसीको ललिता घाटमा सञ्चालित श्रीपशुपतिनाथ वृद्धाश्रममा पुगेपछि संशयमा पर्छन्।

‘मलाई चाँडै लैजाऊ परमेश्वर, कहिले लान्छौ?’, वृद्धाश्रममा आश्रित १६ नेपाली मुलका वृद्धाहरू पशुपतिनाथ मन्दिरमा बिहानै समवेत प्रार्थना गरिरहेका भेटिए।

‘काशीमा प्राण त्यागे सायुज्य मुक्ति पाइन्छ भनेर आएकी हुँ भगवान्! लैजाऊ, मलाई अहिले नै लैजाऊ। एकै छिन बाँच्न मन छैन मलाई। आउन भगवान्, अहिलै नै लैजाऊ,’ यस्तै आर्तनाद सुनियो यो पटक।

‘मर्ने कसैलाई रहर हुँदैन...........’  नेपाली सांगीतिक आलोकका यी शब्दहरू ललिता घाटको वृद्धाश्रममा विफल हुन्छन्।

०००

नमुना गौतम, वर्ष ८४।  माइती– दिङला, भोजपुर।

‘बिहे गरेको वर्ष दिनमै खसम परलोक हुनुभयो, त्यतिबेला १० वर्षको थिएँ’, नमुनाले भनिन्, ‘माइती भोजपुर दिङ्लाका ढकाल। दिङलाकै गौतमलाई बिहे गरी दिए, सानैमा सिन्दुर पुछिई गो।’

श्रीमानको मृत्युपछि नमुना १० वर्ष माइत बसिन्। लामो समय माइत बसाई समाजले रुचाएन। त्यही बेला उनको आमाको पनि निधन भयो। आखिर माइत भन्नु नै आमा रहिछन्। आमा खसेपछि आमा र माइत पर्याय भएको नमुनाले बुझिन्। 

‘आमा खसेको अर्को महिना आफ्नै घर आरुबोटे गएर दुईचार दिन बसेँ हुँला’, उनले सम्झिन्, ‘त्यही भान्जी दिदीसँग काशीवास गर्न आउने सल्लाह भयो। म काम गर्न सक्ने छँदै थिएँ, उमेर तरुनै थियो। आएँ भान्जी दिदीसँगै।’

जीवनको अन्तिम सास यही फेर्ने उद्देश्य लिएर काशी आएको उनले सुनाइन्। ‘यसपछि काशी मै छु। काल पर्खिरहेछु। कालका लागि पुकारिरहेछु। खै, जति पुकारे पनि आउँदो रहेनछ काल पनि,’ लामो सुस्केरा हाल्दै नमुनाले भनिन्।

नमुना पहिले भान्जी दिदीसँगै मङ्गलागौरीमा बसिन्। उसबेला बनारसको दूध विनायकलाई काशीको नेपाल भनिन्थ्यो। दुई ठुला नेपाली धर्मशाला यहाँ अझै सञ्चालित छन्। दूध विनायकमै प्रसिद्ध मंगलागौरीको मन्दिर छ। नेपालका हुनेखाने धेरैको घर थियो दूधविनायकमा। राजनीतिक दल र नेताको सेल्टर पनि। नमुनाजस्तै धेरै वृद्धवृद्धा मंगलागौरीमा आश्रित थिए। कोही पण्डाका घरमा, कोही नेपाली धर्मशाला र कोही आफ्नै डेरामा बसेका थिए। पछि २०५९ सालमा ललिता घाटमा श्रीपशुपतिनाथ वृद्धाश्रमको निर्माण गरिएपछि नमुनासहित १८ वृद्धा यहाँ सरेका हुन्।

०००

द्रुपदा गौतम, वर्ष ८८। माइती गुल्मी, रिडी।

वृद्धाश्रमको माथ्लो तलामा चश्मा नलाई बत्ती कातिरहेकी द्रुपदाको बिहे ६ वर्षमै भएछ। श्रीमानको उमेर त अझ २ महिना कान्छै थियो रे।
विसं १९९३ को माघमा बिहे भएको घटना उनलाई सम्झना छैन। दुर्भाग्य, त्यही चैतमा उनको सिन्दूर पुछियो।

चुरा फुटाउन, सिन्दुर पखाल्न र कपाल खौरन भनेर कसले हो बोकेर लगेको उनी अलिअलि सम्झन्छिन्।

‘देख्दै नदेखेका खसम तार्न’ उनले चुरा फुटाउन दिइन्, ढुङ्ग्री–मुन्द्री फुकाल्न लगाइन्, सिँदुर धोइदिनेलाई केही भनिनन् र कपाल खौरन पनि मानिन्। अनि पो सुरु भयो सेतो पहिरनसँगै र जीवनको रङ्गहीन एकल यात्रा। 

‘नदेखेका पोइका आमाबाउको सेवा गरेर बसें १२ वर्ष’, द्रुपदाले दु:ख पोखिन्, ‘तपस्याजस्तै थिए ती दिनहरू। देवर, जेठाजुहरू दलानमा बसेर लेखपढ गर्थे। मलाई पढ्ने रहर थियो। उनीहरूका छेउमा जाँदा ओई, आइमाई भएर बोक्सी हुन पढ्न खोज्छेस् ? भन्दै कुटेर खेदाउँथे। नजिकै पर्न दिँदैनथे।’

ती अक्षर चिनेका भए जीवन सजिलो हुने उनको विश्वास थियो। 

‘दुईचार अक्षर जानेकी भए कतै काम पाउँथे होला’, द्रुपदाले दुखेसो, पोखिन् ‘यो मुढो (शरीर) धान्न अन्न चाहिने नै रहेछ बाबु। त्यही अन्नको खोजी गर्दै आइपुगें काशीवास।’

०००

गौरीमाया कोइराला उर्फ गौरानन्द गिरी (सन्न्यास लिएपछिको नाम)। वर्ष ८१। माइती घिमिरे। घर/माइती–पोखरा।

दमले ग्रस्त गौरीमाया दोस्रो तलाको कोठामा एक्लै पल्टेर आफ्नै फोक्सोमा सास भर्न सङ्घर्ष गर्दै थिइन्। सन्त रामानन्द गिरीकी शिष्या हुन् उनी। चितवन, देवघाटको वृद्धाश्रममा २५ वर्ष बिताइन्। 'काशीवास गरेको भर्खरै हो, डेढ वर्ष भयो,' गौरीमायाले सुनाइन्।

देवघाट वृद्धाश्रममै श्रीमानले प्राण छाडेपछि उनलाई त्यहाँ बस्न मन लागेनछ। आइपुगिन् वाराणसी।

‘अहिल्यै परमधाम जान मन लागेको छ बाबु’, स्वाँ–स्वाँ गरिरहेकी उनी सकिनसकी बोलिरहेकी थिइन्, ‘आँगन भयो परदेश, तल मन्दिरमा ओर्लिएर पशुपतिलाई मलाई लैजाऊ परमेश्वर पनि भन्न सक्दिनँ।’

०००

श्री साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रस्ट)– महासचिव डा. गोपालप्रसाद अधिकारीका अनुसार यहाँ अर्थात् ललिता घाटमा भएको धर्मशाला, वृद्धाश्रम, पशुपतिनाथ र ललितागौरीको मन्दिर नेपाल सरकारको सम्पत्ति हो। भारतका लागि नेपालका राजदूतको संरक्षकत्वमा रहेको समिति (ट्रस्ट) यहाँको ‘केयर–टेकर’ मात्र हो।

‘उहिल्यै काशी नरेशले नेपालका राजा रणबहादुर शाहलाई दिएको ललिता घाटको भूभागमध्ये राजराजेश्वरीको मन्दिर भएको भाग यतैको कुनै छट्टुले जालसाजी गरेर आफ्ना नाममा पारेछ’, महासचिव डा. अधिकारीले भने, ‘नेपालमा राजराजेश्वरी मन्दिरका नाममा गुठी छ तर युपी सरकारमा भएको कुनै स्रेस्तामा पनि नेपाल सरकार वा कुनै नेपालीको नाम उल्लेख छैन। त्यो भाग हामी लिनसक्ने अवस्थामा छैनौँ।’

नेपाल सरकारले पशुपतिनाथ र ललिता गौरी मन्दिर अनि वृद्धाश्रमको सञ्चालनका लागि अत्यन्त थोरै रकम पठाउने गरेको उनको गुनासो छ। 

‘समाज कल्याण मन्त्रालयले पठाउने भनेको वार्षिक भारु १ लाख मात्र हो, जबकि यसको गुठीका नाममा वीरगञ्जमा मात्रै ११ सय बिघा जमिन छ’, महासचिव डाक्टर गोपालप्रसादले स्पष्ट पारे, ‘नेपालमा त्यहाँको सरकारले पाशुपत क्षेत्र, धनकुटाको मूलघाट र चितवनको देवघाटमा सञ्चालित वृद्धाश्रममा निकासा गरेको जति रकम यहाँको वृद्धाश्रमलाई पनि छुट्याइयोस् भनेर हामीले धेरै पटक पत्राचार गर्यौँ । तर कहिल्यै सुनवाइ भएन।’
यहाँ आइपुग्ने दानशील नेपालीको दानदातव्य र बनारसमै रहेका नेपालीले यदाकदा गर्ने संकलनबाट वृद्धाश्रमको व्यवस्थापन गरिएको उनले जानकारी दिए। यसबाहेक आसामका केही नेपालीले पनि सहयोग गर्ने गरेका छन्।

राजा वीरेन्द्रको वार्षिक पुण्यतिथि पारेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बलबहादुर केसीले २०५९ असार ६ गते वृद्धाश्रमको उद्घाटन गरेका थिए।

यहाँ आश्रित सबै वृद्धालाई समिति(ट्रस्ट)–ले नियमित भोजन, उपचार र अन्य सेवासुश्रूषा पुर्‍याइरहेको अधिकारीले बताए।

०००

समस्त हिन्दुजनको पवित्र, प्रसिद्ध र अभीष्टसमेत मानिने श्मशान अर्थात् मणिकर्णिका घाट यहाँबाट नजिकै पर्छ। मणिकर्णिका कस्तो घाट हो भने यहाँ चौबिसै घण्टा लास जलाइएको दृश्य देख्न पाइन्छ। भनिन्छ, श्मशानेश्वर महादेवका कृपाले यहाँको घाट सधैँ तातै हुन्छ, कसै न कसैको मृत शरीर बलिरहेकै हुन्छ। त्यही घाट कुरेर आफ्नै मृत्युको तत्काल कामना गर्दै जिजीविषामुक्त वृद्धाहरू दिन र रात काटिरहेछन् क्रमशः।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell