PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

वीरगंजको हाफ म्याराथनमा पहिलो र दोस्रो आर्मीको पोल्टामा, एपिएफले तेस्रोमा चित्त बुझायो



राधेश्याम पटेल

वीरगंजको हाफ म्याराथनमा पहिलो र दोस्रो आर्मीको पोल्टामा, एपिएफले तेस्रोमा चित्त बुझायो

वीरगंज: पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१.१ किलोमिटर दुरीको  नेपाल आइस पाँचौँ वीरगंज सिटी हाफ म्याराथनको सिनियरतर्फको उपाधि आर्मीले जितेको छ।

त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितीय स्थानमा बाजी मारेको छ भने तृतीय स्थान सशस्त्र प्रहरीले प्राप्त गरेको छ। आर्मीका लालबहादुर थापा पहिलो र टिकाराज कटुवाल दोस्रो भए। थापाले १ घण्टा ११ मिनेट, कटुवालले १ घण्टा १२ मिनेट ७ सेकेन्डमा दुरी पार गरेका थिए भने एपिएफका सन्तोष विष्टले १ घण्टा १२ मिनेट ३६ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थान ल्याए।

त्यसै गरी ५ किलो मिटर दुरी रहेको जुनियर तर्फ १८ मिनेटमा दौड पुरा गर्दै सुभाष थापा पहिलो, अनिल साह दोस्रो र अमित शर्मा तेस्रो भए। 

सिनियर तर्फका खेलाडीमध्ये पहिलोले २५ हजार, दोस्रोले २० हजार, तेस्रो हुनेले १५ हजार तथा जुनियर तर्फमा पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार नगदसहित, मेडल, प्रमाणपत्र प्राप्त गरे। 

प्रतियोगिता धावक वैकुण्ठ मान्धर, पुष्पलाल श्रेष्ठ, बुद्धवीर लामालगायतले पुरस्कृत गर्दै बधाई दिएका थिए। संघका अध्यक्ष शैलेन्द्र पाण्डेको अध्यक्षता एवं दिलिपराज कार्कीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समिति वीरगंजका अध्यक्ष मानदेव हाजराको उपस्थिति थियो।

यसैबिच,वीरगंजमा संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न भएको छ। ५ किलोमिटर दुरीको यो प्रतियोगितामा प्रिन्स मुखिया पहिलो, चन्देश्वर पटेल दोस्रो, विकासचन्द उपाध्याय तेस्रो भएका छन्। कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानसेनापति रुकमाँगद कटुवालले विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell