PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

नेपाल आउनुभन्दा पहिले चीन जाँदै भारतीय प्रधानमन्त्री मोदी



पहिलोपोस्ट

नेपाल आउनुभन्दा पहिले चीन जाँदै भारतीय प्रधानमन्त्री मोदी
फाइल फोटो : रोयटर्स

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनमा भेटवार्ता हुने तय भएको छ। एसियाका दुई ठूला मुलुकका नेताबीच चीनको उहान शहरमा द्वीपक्षीय अनौपचारिक छलफल हुने भएको हो। अप्रिल २७ र २८ मा भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा हुनेछन्। 

'चीन र भारतको इतिहासमा यो एउटा कोशेढुंगा हो,' चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय समकक्षी सुष्मा स्वराजसँगको संयुक्त पत्रकार सम्मेलनमा बेइजिङमा भने।
 
भारतीय प्रधामन्त्री मोदी मे ११ मा नेपाल जाने तयारी भएको हिजोमात्र भारतीय मिडियाले सार्वजनिक गरेका थिए। मोदीको नेपालयात्राभन्दा पहिले चीन यात्रा तय भएको हो।

यो पनि पढ्नुस् : ओलीलाई इंगेज गर्न मोदीको अस्त्र : भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका चार फ्याक्टर

स्वराजले अनौपचारिक द्वीपक्षीय वार्ताले दुवै पक्षलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय विषय तथा संवाद कायम राख्न सघाउने बताइन्। विकास साझेदारीका विषयमा यी दुई नेताबीच छलफल हुने स्वराजले जानकारी दिइन्।

चीन भ्रमणमा रहेकी स्वराजको वाङसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीको चीनयात्रा तय भएको हो। दोक्लम विवादपछि चिसिएको सम्बन्ध सुधारका लागि भारत र चीन दुवै तत्पर देखिएका छन्। स्वराजको चीन भ्रमणलाई त्यसैको कडीका रुपमा लिइएको छ। स्वराजको भ्रमण अघि नै चीनले भारतसँग संयुक्त सैनिक अभ्यासका लागि प्रस्ताव पठाइसकेको छ।
 
साङ्घाई कोअपरेसन अर्गनाइजेसनको समिट आगामी जुनमा हुँदैछ। त्यसमा सहभागी हुनुअघि नै मोदीको चीन भ्रमणले यी दुई मुलुक सम्बन्ध सुधार र व्यवसायिक विस्तारका लागि सचेत छन् भन्ने देखाउँछ।
 
स्वराज शनिबार राति चीन पुगेकी हुन्। साङ्घाइ कोअपरेसन अर्गनाइजेसनको विदेश मन्त्रीहरुको मिटिङका लागि उनी चीन पुगेकी हुन्। त्यही मौकामा उनले मोदीको संदेश चिनियाँ समकक्षीमार्फत् दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell