नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले चौथो जित हासिल गरेको छ।
आइतवार भएको खेलमा गोरिल्लाजले एबरोल टी एम टी लुम्बिनी यात्रीलाई ४ रनको झिनो अन्तरले हरायो। निकै नै रोमान्चक स्थितिमा पुगेको खेलमा लुम्बिनीलाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो। तर खेल सकिन १ बल अगावै लुम्बिनीले सबै विकेट गुमाएपछि गोरिलल्ज विजयी भयो।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको रोल्पा गोरिल्लाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन जोडेको थियो। रोल्पाका लागि नन्नदन यादवले ४०, आकाश थापाले २९, ओपनर सौरभ खनालले २७ रन, भिम सार्कीले २३ रन बनाए। लुम्बिनी यात्रीजका लागि सोम शर्माले ३ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए।
जवाफमा १४२ रनको लक्ष्यसहित मैदान उत्रेको लुम्बिनी यात्रीजले अन्तिम ओभरमा आएर खेल गुमायो। लुम्बिनीका कप्तान कृष्ण कार्कीले ३५, बसिर अहमदले २४ तथा कुसल मल्ल तथा विशाल खत्रीले समान २० रन जोडे। खेलको अन्तिम ओभरमा पप्पु कन्सट्रक्सनका बलर भिम सार्कीले १९.५ औँ ओभरमा लुम्बिनिका बसिर अहमदलाई आउट गराउँदै टिमलाई जित दिलाए।
अन्तिम ओभरमा भिम सार्कीले २ विकेट लिएका थिए। रोल्पाका लागि बसन्त कार्कीले २ विकेट लिए। खेलमा २३ रन बनाउनुका साथै २ विकेट लिन सफल रोल्पा गोरिल्लाजका भिम सार्की म्यान अफ द म्याच घोषित भए।
आइतवारै भएको दोस्रो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले जिसान बाँके ब्लास्टर्सलाई ७ विकेटले जितेको छ। टस हारेर पहिले ब्याटिङ गरेको बाँकेले २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १४० रन बनाएका थियो।
बाँकेका ओपनर तथा कप्तान महेश क्षेत्रीले नटआउट ४८ रन बनाए भने अर्का ओपनर विपिन रावलले २३ रन जोडे। त्यस्तै विशाल केसीले १६ तथा रोमन बलमे १३ रन बनाए।
बर्दिया टाईर्गसका दुर्गेस गुप्ता तथा भरत थापाले समान २ विकेट लिए।
१४१ रनको लक्ष्य बर्दिया टाईर्गसले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। बर्दियाको जितमा कप्तान सुवेन्दु पाण्डेले नटआउट ४६ रन बनाए। यस्तै राजवीर सिंहले ३५ बलमा ४३ रन बनाए भने विश्वास श्रेष्ठले १९ रन जोडे। खेलका म्यान अफ द म्याच ४६ रन बनाएका बर्दिया टाईर्गसका कप्तान सुवेन्दु पाण्डे घोषित भए।
६ टिम सहभागि रहेको प्रतियोगितामा सोमवार लिग खेलमा एन आई सि एसिया दंगाली गोर्खाज र आर्शिवाद पेन्ट्स पाल्पा योद्याजबीच तथा एबरोल टी एम टी लुम्बिनी यात्रीज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसबीच हुनेछ।
५ खेलमा ४ वटा जित हात पारेको पप्पु कन्सट्रक्सन रोल्पा गोरल्लाज लिगको शीर्ष स्थानमा छ।