
ढाका : नेपालको राजधानी काठमाडौंका लागि वंगलादेशबाट आज बस छुटेको छ। वंगलादेश-भारत-नेपाल सडक मार्गको रुट परीक्षणका लागि दुईवटा बस छुटेको हो।
२५ वंगलादेशी, १२ भारतीय र ६ नेपाली प्रतिनिधि बसबाट काठमाडौंको यात्रामा छन्। वंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (बिआरटिसी)का अध्यक्ष फरिउद्धिनले कमलापुर बिआरटिसी इन्टर्नेसनल डिपोटबाट बसलाई विदाई गरे। बस तीन दिनमा नेपाल आइपुग्नेछ। तीन देशबीच बस यातायात सेवा सुरु गर्ने प्रकृया यसैबाट थालिने अरिउद्धिनले जानकारी दिए।
'प्रोटोकल एग्रिमेन्ट भएपछि व्यवसायिक रुपमा दुई-तीन महिनाभित्रै बस सेवा सुरु हुने अपेक्षा गरेका छौं,' उनले भने।
बस सेवा सफल रुपमा हुने देखियो भने वंगलादेशबाट नेपाल यात्रा गर्नेले महँगो हवाई सेवाबाट छुटकारा पाउन सक्नेछन्।
यो रुटले पूर्णता पाउने हो भने वंगलादेशबाट-भुटान-भारत-नेपाल बसमार्फत् नै यात्रा गर्न सकिने छ। यी देशका यात्रुका लागि यो नौलो अनुभूतिसमेत हुनेछ। निजी तथा व्यवसायिक सवारीहरु ढाकाबाट वंगलाबन्ध र फुलवारी बोर्डर हुँदै भारत र त्यहाँबाट पानी ट्यांकी र काकडभिट्टा हुँदै नेपाल भित्रनेछ।
वंगलादेशी नागरिकले भारतको ट्रान्जिट भिसा लिएर बसबाटै नेपालसम्मको यात्रा गर्न सक्नेछन्। यद्यपि, वंगलादेश, भुटान, भारत र नेपालबीच सहमति भएमा हरेक देशमा गाडी फेरेर सडक यात्रा गर्ने वाध्यता समाप्त हुनेछ।