
- रीना मोक्तान -
काठमाडौं : नेपाली फिल्म इन्डस्ट्रीमा यति बेला बक्सअफिसको मुद्दा चर्किएको छ। चलचित्र विकास बोर्डले देशभरिका सिंगल थिएटरसँगै मल्टिप्लेक्समा २०७५ माघ सम्ममा बक्सअफिस कार्यान्वयनको लक्ष्य राखेको छ। त्यसकै पहिलो चरणमा इ-टिकेटिङ सिस्टम लागू गर्न थालेलगत्तै हल संचालक विरोधमा उभिएका छन्।
यसबारेमा फिल्मकर्मीहरुले पनि बहस थालेका छन्। कलाकारहरुले पनि सामाजिक सञ्जालदेखि कार्यक्रमहरुमा बक्सअफिसको पक्ष वा विपक्षमा आफ्नो धारणा राख्न थालेका छन्। यस्तोमा पटकथा लेखक एवं अभिनेता खगेन्द्र लामिछाने भन्छन्,'म त एक्टर हुँ यस विषयमा धेरै बोल्न आवश्यक नहोला तर फिल्म व्यवसायको उचित जानकारीका लागि आवश्यक प्रविधि हो।'
लामो विवाद र छलफलपछि नेपालमा बक्सअफिस लागू गराउने सहमति माघ ११ गते भएको थियो। चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यन्वयन समितिका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको उक्त बैठकले २०७५ वैशाख १ गतेबाट बक्सअफिसको परीक्षण हुने र २०७५ श्रावण १ गतेबाट उपत्यकाभित्र लागू गर्ने निस्कर्ष निकालेको थियो। त्यस्तै काठमाडौं बाहिर २०७५ माघ १ गतेसम्ममा कार्यान्वयन हुने भनिए पनि अहिले हल संचालकहरुले विरोध जनाइरहेका हुन्।
उनले बक्सअफिस स्थापनाले फिल्मको व्यापार पारदर्शी हुन्छ भने त्यसको सुरुवात आवश्यक होला भन्ने तर्क गरे। 'प्रविधिको प्रयोग होस्। तर त्यो सबैलाई न्यायोचित हुनुपर्छ,' उनले भने।
खगेन्द्र लामिछानेको लेखन तथा मुख्य अभिनय रहेको फिल्म 'डमरुको डण्डिवियो' यही वैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा उनीसँगै अनुप बराल, अंकित खड्का, मेनुका प्रधान, लक्ष्मी बर्देवा, आशान्त शर्मा, बुद्धि तामाङ, मिश्री थापा, गि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ। समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन्।