
इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्तग मंगलवार भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।
मुम्बईको घरेलु मैदान वाङ्खडे स्टेडियमा हैदरावादले ११८ रनको सामान्य स्कोर डिफेण्ड गर्दै सिजनको चौथो जित हात पार्यो। ११९ रनको लक्ष्य पछ्याएको मुम्बई पनि ८७ रनमै अलआउट भयो।
टस हार्र पहिले ब्याटिङ गरेको हैदरावादले १८.४ ओभरमा अलआउट हुँदै ११८ रन बनाएको थियो। केन विलियमसन र युसुफ पठानले २९-२९ रन बनाए। मनिस पाण्डेले १६ तथा मोहमद नावीले १४ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङमा मुम्बईका मिचेल म्याकलेनघान, हार्दिक पाण्ड्या र मायांक मार्कनेडेले २-२ विकेट लिए।
११९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले पनि खराब प्रदर्शन गर्दा १८.५ ओभरमा ८७ रनमा अलआउट भयो। मुम्बईका लागि सूर्य कुमार यादवले ३४ तथा क्रुनल पाण्ड्याले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
बलिङमा सिद्दार्थ कउलले ३ तथा रसिद खान र बसिल थम्पीले २-२ विकेट लिए।