काठमाडौँः कप्तान महेन्द्रसिंह धोनी र अम्बाती रायडुको उत्कृष्ट प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नाई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ५ विकेटको जित हासिल गरेको छ। २०६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २ बल बाँकी रहँदा लक्ष्य भेट्टाएको हो। चेन्नाईको इनिङमा रायडुको ८२ र कप्तान धोनीको ७० रनको योगदान रह्यो। जितसँगै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो। उसका लागि एवि डिभिलियर्सले ३० बलमा ६८ रनको योगदान दिए। यस्तै, ओपनर क्वान्टन डी ककले ५३ रनको योगदान दिए। बैंलगोरको इनिङमा मन्दीप सिंहले ३२ र कप्तान विराट कोहलीले १८ रनको योगदान दिए।
२०६ रनको लक्ष्य पछ्याएको चेन्नाईको सुरुवात सशक्त हुन सकेन। ओपनर सेन वाट्सनलाई ७ रनमै गुमाउँदा मध्यक्रमका ब्याट्सम्यान पनि सस्तोमै समेटिएका थिए। ओपनर रायडु र कप्तान धोनीको १०१ रनको साझेदारीबाट चेन्नाई जिततर्फ उन्मुख भएको थियो। रायडुले ५३ बलमा ८२ र धोनीले ३४ बलमा ७० रनको योगदान दिए। चेन्नाईको इनिङमा ड्वेन ब्राभोले ७ बलमा १४ रनको योगदान गरे।
बलिङतर्फ चेन्नाईका ब्राभो, इमरान ताहिर तथा शार्दुल ठाकुरले समान २/२ विकेट लिए। यस्तै, बैंगलोरका युजेभन्द्र चाहलले दुई विकेट लिए। उमेश यादव र पवन नेगीले एक/एक विकेट लिए।