
काठमाडौ: यो साता फ्राइडे रिलिजमा दुई नेपाली फिल्म सार्वजनिक भए। फिल्म 'कोहलपुर एक्सप्रेस' र 'ह्याप्पी डेज' रिलिज भएका हुन्।
फिल्म कोहलपुर एक्सप्रेसलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन्। तीन युवतीको पैसा कमाउने यात्राको कथा पनि निर्देशक स्वयंमले लेखेका हुन्। फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, बिनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई आदिको अभिनय रहेको छ।
अर्जुन तिवारीले खिचेको फिल्मलाई भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिवप्रसाद चौलागाईले संयुक्त रुपमा निर्माण गरेका हुन्।
त्यस्तै फिल्म 'ह्याप्पी डेज'लाई मिलन चाम्सले निर्देशन गरेका हुन्। पाँचौ रिलिज टार्गेट पुरा गर्दै फिल्म प्रदर्शनमा आएको हो। दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ।
बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।
दुबै फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएका छन् भने दुबैमा प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ।
बलिउडको कुनै पनि फिल्म नेपाल प्रदर्शनमा आएन।
हलिउडतर्फ भने 'एभेन्जर्स: इन्फनिटी वार' नेपालका लागि रिलिज भयो। मार्भल स्टुडियोजको प्रस्तुति अमेरिकन सुपर हिरो फिल्म सन् २०१२ मा सार्वजनिक फिल्म 'द एभेन्जर्स'को तेस्रो अङ्क हो।
फिल्मलाई एन्थोनी रुसो र जोय रुसोले निर्देशन गरेका हुन्। फिल्ममा रोबर्ट डाओनी, क्रिस हेम्सवर्थ, मार्क रुफालो, क्रिस एभान्स, टम हल्यान्ड, क्रिस प्राट लगायतको मुख्य अभिनय रहेको छ।