काठमाडौं : चौथो एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ।
च्याम्पियनसिप अन्तर्गत शुक्रवार तेस्रो स्थानको लागि भएको खेलमा साविक विजेता कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएपछि नेपाल चौथो बनेको हो। गत संस्करणमा कास्य जितेको नेपाली टोली यस पदक स्वर्ण जित्ने लक्ष्यका साथ बंगलादेश पुगेपनि सोहि अनुसारको प्रदर्शन गर्न नसक्दा खाती हात फर्कने निश्चित भएको हो।
ढाकास्थित मिरपुरको इन्डोर कोर्टमा भएको खेलमा कीर्गिस्तानले नेपाललाई २५-१९, २५-२०, २५-२२ ले हरायो। यससँगै कीर्गिस्तानले कास्य पदक जितेको छ।
समूह ए मा परेको नेपालले आयोजक बंगलादेशसँग हार ब्यहोरेपनि माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको थियो।
यसैगरी उज्वेकिस्तानले प्लेअफमा माल्दिभ्सलाई २५-२१, २५-१७, २५-२० को सेटमा पराजित गर्दै पाँचौ स्थान हात पारेको छ।
उपाधिका लागि आयोजक बंगलादेश र तुर्कमिनेस्तानबीच शुक्रवारै खेल हुनेछ।