काठमाडौं : दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब जनकपुरमा भइरहेको तेस्रो दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
शुक्रवार भएको सेमिफाइनलमा दुवैले भारतीय क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा पुलिसले सनेट कानपुरलाई २८ रनले तथा दोस्रो सेमिफाइनलमा आर्मीले फोनिक्स क्बललाई ९ विकेटले हरायो। फाइनल खेल शनिवार हुनेछ।
रंगभुमी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनाएको थियो। पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३७, दीलिप नाथले ३२ तथा अमित श्रेष्ठले २२ रन बनाए। आरिफ शेखले १४ बलमा नटआउट २७ रनको योगदान गरे। सनेटका फैज अहेमदले २ विकेट लिए।
जवाफमा १५० रनको लक्ष्य पछ्याएको सनेट कानपुर २ बल अगावै ११९ रनमा अलआउट भयो। उसका लागि अदेश कुमारले सर्वाधिक २५ रन बनाए।
सनेट कानपुरलाई अलआउट गर्न पुलिसका लागि सुनिल धमला, रामनरेश गिरी र ललित राजवंशीले २-२ विकेट लिए।
यस्तै अर्को खेलमा आर्मीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको फोनिक्स १६.२ ओभरमा ५२ रनमा अलआउट भयो। फोनिक्सका लागि रजिन्दर लाले सर्वाधिक २१ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। चार खेलाडी खाता नखोली आउट भएका थिए।
फोनिक्सलाई कम स्कवरमा रोक्न आर्मीका सहाब आलम ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। यस्तै २ ओभर बलिङ गरेका सोमपाल कामीले १ मेडन राख्दै २ रन मात्र खर्चेर २ विकेट लिए। सागर पुनले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। सुसन भारी र जितेन्द्र मुखियाले १-१ विकेट लिए।
५३ रनको समानेय लक्ष्य आर्मीले ५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। आर्मीको जितमा नरेश बुढाएरले नटआउट २६ रन बनाए। १३ बल खेलेका बुढाएरले ५ चौका र १ छक्का प्रहार गरे। यस्तै सागर थापाले १८ ल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा २२ रन योगदान गरे।